डोटीमा बजार अनुगमन : एउटै पसलमा पाँच लाख बराबरको अखाद्य वस्तु फेला

 असोज ११, २०७६ शनिबार १३:४८:४१ | विमल बिष्ट
unn.prixa.net

डोटी – दशैँ, तिहार लगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री, वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा छड्के अनुगमन गरेको हो ।  

अनुगमनका क्रममा पिपल्ला बजारमा रहेको दिल्पेश्वर जनरल स्टोरमा मात्रै झण्डै पाँच लाख रुपैयाँ बराबरको म्याद नाघेका अखाद्य वस्तु फेला परेको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘झण्डै पाँच लाख बराबरको अखाद्य वस्तु हामीले फेला पारेर जफत गरेका छौँ, कानुनी प्रक्रियाअनुसार नष्ट गर्छाैँ ।’ 

दिपायलको पिपल्ला बजारमा अखाद्य वस्तु बिक्री, वितरण भएको गुनासो आउन थालेपछि टोलीले बजारमा छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा बिक्री, वितरण हुने अखाद्य वस्तुको व्यापार रोक्नका लागि हामीले अनुगमन गरेका छौँ, अटेर गरे खाद्य सुरक्षा ऐन अन्तर्गत कारबाही हुनेछ ।’ 

बजार अनुगमनका क्रममा टोलीले लाखौँ मूल्य बराबरका बिस्कुट, चाउचाउ, दालमोठ, विभिन्न मसला आइटम, जुस, चक्लेट, गुल्कोज, हर्लिक्ससलागयतका वस्तु अखाद्य भेटिएको अनुगमन समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाले बताउनुभयो ।

‘पिपल्लामा मात्रै हामीले ठूलो परिमाणमा अखाद्य वस्तु जफत गरेका छौँ, अन्य ठाउँमा पनि अनुगमन गरिने छ र यसैका आधारमा कारबाही हुनेछ’, उहाँले भन्नुभयो । 

त्यस्तै केही अखाद्य वस्तुहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाइने र त्यसैका आधारमा अन्य कारबाही गरिने अनुगमन समितिका संयोजक दिपायल सिलगढी नगरपालिकाका उमयेयर शिवराज खड्काले बताउनुभयो । 

यस्तै गएको जेठ महिनामा पनि  दिपायलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले अनुगमन गरी ठूलो परिमाणमा अखाद्य वस्तु फेला पारेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख नारायण रावतले अखाद्य वस्तु बेच्ने अधिकार कसैलाई नभएको र उपभोक्ताले पनि सामान किन्दा वस्तु उत्पादन भएको मिति र समाप्ति मिति हेर्न सुझाव दिनुभयो । 

डोटीका ठूला व्यापरीहरुले गाउँघरमा म्याद सकिएको अखाद्य वस्तु बिक्री, वितरणका लागि पठाउने गरेको स्थानीयको आरोप छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया