आँखाका डाक्टर सन्दुक रूइतको जीवनी लोकार्पण

 असोज १२, २०७६ आइतबार ११:४१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी सन्दुक रूइत लोकार्पण गरिएको छ । काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा शनिबार आयोजित एक विशेष समारोहमा २१ वर्षसम्म पूर्ण दृष्टिविहीन भएर डा. रुइतले गरेको शल्यक्रियाबाट दृष्टि पाएका सल्यानका शिक्षक तोपबहादुर शर्माले पुस्तक लोकार्पण गर्नुभयो । अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गर्नुभएको हो । 

कार्यक्रममा शर्माले आफूले २१ वर्षको उमेरसम्म पूर्ण रुपमा दृष्टिविहीन भएर जीवनयापन गर्नुपरेको र यसबीचमा डा. रुइतले आफूलाई नयाँ जीवन दिएको बताउनुभयो । त्यसअघि आफूले धेरै दुःख पाए पनि डा. रुइतका कारण आफूले नयाँ संसार पाएको उहाँको भनाइ थियो । आफ्नै हातबाट यति महान् डाक्टरको जीवनी लोकार्पण गर्न पाउनु जीवनकै अहोभाग्य भएको उहाँले बताउनुभयो ।

यसैगरी तिलगंगा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिता गुरुङले आफूले डा. रुइतसँग तिलगंगा अस्पतालमा सुरुवाती चरणबाटै काम गरेको बताउनुभयो । कर्मशील एवम् आफ्नो काममा प्रतिबद्ध रुइतका कारण आफू सधैँ उहाँको काममा जोडिएको उहाँले बताउनुभयो । कामको सिलसिलामा जहिल्यै पनि डा. रुइतबाट आफूले प्रेरणा एवम् उत्साह पाएको उहाँले बताउनुभयो । 

कार्यक्रममा पुस्तक अनुवादक संग्रौलाले पुस्तक अनुवादको चरणका रोचक प्रसंग सुनाउनुभयो । माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म पुस्तक अनुवाद गर्नुभएका उहाँले डा. रुइतको जीवनीले आफूलाई प्रभावित पारेको र त्यसका लागि तयार रहेको प्रतिक्रिया दिनुभयो । आफूले अनुवाद गरेका अन्य पुस्तकको तुलनामा यो अति उत्कृष्ट पुस्तक रहेको उहाँले बताउनुभयो । जसले मानिसको जीवनमा ज्योति भर्नका लागि, जीवनमा नयाँ ऊर्जा थप्नका लागि केही गर्छ, त्यो वास्तवमै उत्कृष्ट हुन्छ । डा. रुइतले पनि आफ्नो जीवनमा त्यही काम गरेको लेखक संग्रौलाले भन्नुभयो ।

रुइत आफूलाई मन परेको लक्ष्य प्राप्त गर्ने काममा विवाद झेल्न, जोखिम उठाउन र मर्न पनि तयार व्यक्ति रहेको संग्रौलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत एवम् सादा जीवन, उच्च विचारको आदर्शले शोभित सानदार जीवन हो । रूइतको नागबेली जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय छ । यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षण मेरो जीवनका सुखद र सार्थक क्षणहरु हुन् ।’

लेखक एवं पत्रकार विजयकुमारले डा. रुइत जीवनमा संघर्ष, आरोहअवरोह, सफलता आदिको पर्यायका रुपमा रहेको धारणा राख्नुभयो । जसको जात एवम् धर्मको परिचय छैन, त्यहाँबाट उठेर जीवनमा लाखौँ मानिसलाई सम्मानपूर्ण जीवन दिन सक्ने र उनीहरुको जिन्दगीमा उज्यालो दिने व्यक्ति डा. रुइत भएको उहाँको भनाइ थियो । मानिसको जीवनमा सबै किसिमका रङ यो पुस्तकमा रहेको उहाँले बताउनुभयो ।

बाटो जतिसुकै अप्ठ्यारो किन नहोस्, हिँडेपछि पुगिन्छ । त्यसको एउटा उदाहरण डा. रुइत रहेको उहाँले बताउनुभयो । आफूले अहिलेसम्म अध्ययन गरेको सबैभन्दा सुन्दर पुस्तकमध्ये एक रहेको उनी बताउँछन् । 

कार्यक्रममा डा. रुइतले पुस्तक आफ्नो जीवनको मात्र नभइ परिवार, आफ्नो जीवनमा भएका उतारचढाव, सफलता, आरोह–अवरोह एवम् तिलगंगा आँखा अस्पतालको संघर्षको कथा भएको उहाँले बताउनुभयो । डा. रुइतले भन्नुभयो, ‘अङ्ग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आएकोमा म एकदम हर्षित भएको छु । मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गर्‍यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु ।’ 

प्रकाशक फाइनप्रिन्टका अजित बरालले डा. रुइतको जीवनी छाप्न पाउनु आफूहरुका लागि महाचाड जस्तै भएको बताउनुभयो । डा. रुइतले आफ्नो सुकर्मबाट लाखौँ मानिसको जीवनलाई नयाँ जीवन दिएको र उनको जीवनीले सबैलाई प्रेरणा दिने उहाँले बताउनुभयो ।

फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भन्नुभयो, ‘विनयशीलता र परोकारका प्रतीक डा. रूइतको जीवनी प्रकाशन गर्न पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो । यो हामीले उनलाई गर्न सक्ने सम्मान पनि हो । मलाइ लाग्छ, जोन उडको माइक्रोसफ्टदेखि बाहुँनडाँडासम्मले जस्तै यो पुस्तकले पनि वैभव र विलासको जीवन त्यागेर संसारलाई असल बनाउने उदात्त कर्ममा लाग्न हामीलाई प्रेरित गर्छ ।’

उक्त पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले पहिलो पटक अङ्ग्रेजीमा प्रकाशन गरेको हो । उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको हो ।

डा. रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो ।

संसारका चिकित्सकीय संस्थापन पक्षसँग निरन्तर जुध्दै सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भूत डा. रूइतको जीवन्त एवम् रोचक कथा हो, यो पुस्तक । यसमा विभेदकारी जात प्रथाको सबैभन्दा तल्लो तहमा दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन प्रयत्न एवम् अथक सङ्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको जीवनवृत्तको रोमाञ्चक गाथा सम्मोहनयुक्त रुपमा लेखिएको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया