पलेँटीबाट सार्वजनिक भयो मञ्जुलका ‘सम्झनाका पाइलाहरू’

 असोज १३, २०७६ सोमबार १२:२३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कवि, गीतकार तथा गायक मञ्जुलले गीति-यात्रा संस्मरण 'सम्झनाका पाइलाहरू' सार्वजनिक गर्नुभएको छ । नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम 'पलेँटी'मा आफ्ना गीत सुनाउँदै १२ गते आइतबार साँझ यो पुस्तक विमोचन भएको हो ।

नेपाली साहित्यिक र सांगीतिक क्षेत्रमा अलग्गै स्थान लिएको राल्फा अभियानका अगुवा मध्येका व्यक्तित्व हुनुहुन्छ कवि मञ्जुल । 'सम्झनाका पाइलाहरू' कवि मञ्जुल र गायक तथा संगीतकार रामेशले पूर्वी नेपालको सांगीतिक यात्रा गर्दाको सम्झनाको संगालो हो । वि.सं. २०४४ सालमा पहिलोपल्ट प्रकाशित यस पुस्तकलाई पब्लिकेसन्स नेपालयले ‘नेपालय- क्लास्सिक’ अन्तर्गत पुनः प्रकाशित गरेको हो । 

आइतबारको पलेँटीमा मञ्जुलले अनुभव बटुलेको उहाँको विगतको सांगीतिक यात्राको चर्चा भएको थियो । कार्यक्रममा उहाँले रचना गरेका आठवटा गीतहरू प्रस्तुत भएका थिए । कार्यक्रममा राल्फाकाल र त्यस वरपरको समयको चर्चा भएको थियो ।

कार्यक्रमको सुरुवात मञ्जुलको शब्दमा रामेशले धुन भरेको गीत ‘कार्यशील जिन्दगी, बगिरहने नदी हो’ बाट भएको थियो । सामुहिक स्वरमा सुहाउने यो गीतमा मञ्जुललाई पलेँटी टीमले साथ दिएको थियो । दोस्रो प्रस्तुतिमा पनि रामेशकै संगीतमा बाँधिएको ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू, हाम्रा गीतहरू’ रहेको थियो ।

दोस्रो गीतको प्रस्तुतिसँगै मञ्जुल आफ्ना अतीतका दिनलाई खुलेर सम्झना गरिरहनु भएको थियो । ‘त्योबेला म राष्ट्रबैँकमा जागिरे थिएँ । रामेश, रायन, अरिम रेडियोमा लोकगीतहरू गाउँथे । संजोगले उहाँहरूसँग परिचय भयो । गीत संगीतमा मेरो पनि रुचि थियो । म पनि सँगै गाउन थालेँ । रेडियोमा गाएको पारिश्रमिक राष्ट्र बैँकमार्फत् लिनु पर्थ्यो । आफैँ कार्यरत बैँकबाट एकदिन पोल खुल्यो; हाम्रो पारिश्रमिक त किर्ते गरेर रेडियोकै अन्य कोहीले खाँदा रहेछन् । त्यो फटाईँ विरुद्ध हामीले मुद्दा हाल्यौं । त्यो घटनाले हाम्रो रेडियो नेपाल जाने बाटो बन्द भयो । त्यसपछि गीत, संगीतमा लाग्ने अरु बाटो खोज्दा ‘राल्फा’ बन्यो । राल्फाले फरक खालका प्रयोगवादी सृजनाहरू सृजना गर्न थाल्यो ।‘ मञ्जुलले विगतलाई सरसर्ति सम्झनुभयो ।

कार्यक्रमको तेस्रो प्रस्तुति मञ्जुलले भने झैँ साँच्चै नौलो प्रयोगको गीत थियो । मञ्जुल रामेशले गीत सुनाउने यात्राको प्रारम्भमा राल्फाका अमूर्त गीत पनि सुनाउथे । त्यस्ता गीतलाई त्यसबेलाका बामपन्थी युवाहरूले रुचाउँदैनथे र खरो आलोचना गर्थे । त्यसपछि मञ्जुलले आफ्नो गीत लेखनको धारलाई जनपक्षीय बनाए । उहाँले लेखे- ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू, हाम्रा गीतहरू’ पलेँटीको टीमले यो गीत गाउँदा दर्शकदीर्घाबाट राल्फाका अर्का गीतकार निरन पनि गुनगुनाइरहेका देखिन्थे । कार्यक्रममा राल्फाका अर्का सदस्य विमल राल्फाको पनि उपस्थिति थियो ।

तेस्रो प्रस्तुतिले नेपाली समाजमा संगीतको सेवा गरेर जीवन गुजार्ने गान्धर्व समुदायलाई सम्मान व्यक्त गरेको भान हुन्थ्यो । सरल लोकभाका शैलीमा बनेको गीतलाई दर्शहरू पनि गुनगुनाइरहेका सुनिन्थे- ‘डुल्दै आयो गाइने दाजु हाम्रो आँगनमा’ । कुनै बेला गीतार हातमा लिएर गाउन रुचाउने मञ्जुल आइतबार भने बिना गिटार मग्न भावमा गाइरहनुभएको थियो ।

चौथो गीत देशप्रेमलाई कलात्मक भावधारामा बहाउन सक्षम गीत थियो । विगतका पलेँटीमा यो गीतलाई मूल गायक कुमार सुब्बा र मीना निरौलाले संगीतकार कर्म योञ्जनले भरेको धुनमा सुनाएका थिए तर आइतबार भने रामेशकै संगीतमा गुञ्जिएको थियो- मेरो सानो मुरलीमा मेरो देश नअट्ला तर मेरो मुरलीले भका राखूँ भन्छ’ ।

कार्यक्रमको दोस्रो चरणमा कवि मञ्जुलले केही पुराना कविताहरू वाचन गर्नुभएको थियो । उहाँले आफ्नो पुरानो कविता सँग्रह ‘गायक यात्री’बाट त्यही शीर्षकको कविता लगायत ‘गीतार’ शीर्षकको कविता सुनाउनु भएको थियो । कवि मञ्जुलका पहिलो चरणका कविताले सामाजिक र राजनैतिक परिवर्तनको पक्षधरता लिएका पाइन्छन् ।

कविता वाचन पश्चात विगतमा उहाँसँग नजिकबाट संगत गरेका तथा संगीत र साहित्यमा गहिरो अभिरुचि राख्ने राजनैतिक व्यक्तित्व रघु पन्तले मञ्जुलको व्यक्तित्व र कृतिमाथि आफ्नो मन्तव्य राख्नुभएको थियो । रघु पन्तले मञ्जुल र रामेशसँगको संगतको प्रसंग कोट्याउँदै विगतका क्षणहरूको व्याख्या गर्नुभयो ।

‘मञ्जुल दाइ भावनात्मक भावधारा बोकेको रचनाकार हुनुहुन्छ । उहाँसँग संगत गर्दाको अनुभवबाट मलाई के लाग्छ भने- उहाँको उर्जावान प्रेरणाले नयाँ पुस्ताका धेरै प्रतिभाहरूलाई सृजनशील बनाएको थियो, तिनमा अहिले सफलता प्राप्त गरेका कतिपय नाम पनि सामेल छन्, भन्ठान्छु’ रघु पन्तको धारणा थियो । मञ्जुलसँग आफूले भेटेको समय र राजनैतिक परिवेशको सम्झना गर्दै रघु पन्त अगाडि भन्दै हुन्छन्- ‘मञ्जुल दाइले एउटा उपन्यास लेख्नु भएको थियो- ‘छेकु डोल्मा’ त्यो कृति सयौं प्रति मञ्जुल दाइ र म सँगै बसेर आगोमा जलाएका थियौं । पुस्तक जलाउने क्रममा मलाई कताकता लाग्यो, एककपी रेकर्डको लागि राख्नु पर्छ तर मञ्जुल दाइले; मैले के लेखेँ अब यसलाई निमिट्यान्नै पार्नुपर्छ भन्नुभएथ्यो ।’ सडकमा हिंड्दै गर्दा केही दिन अघि फुटपाथमा बेच्न राखिएको ‘छेकु डोल्मा’को प्रसंग जोड्दै रघु पन्तले त्यसबेलाको राजनैतिक सोचको सम्झना गर्नुभयो ।

सम्झनाका पाइलाहरू’को प्रसंग जोड्दै रघु पन्तले भन्नुभयो- ‘मञ्जुल दाइले रुपरेखा पत्रिकामा लेखेको संस्मरणको शृंखलामा रामेशले छुटेका कुराहरू थप्ने क्रम सुरु भयो र दुबैको छलफल र सहकार्यमा यो कृति तयार भयो । यो उहाँहरूले गरेको सांगीतिक यात्राको छोटो समयको वर्णन हो तर यसमा तत्कालीन सामाजिक, राजनैतिक र सांस्कृतिक अवस्थाको सुन्दर चित्रण छ । यो नयाँ पुस्ताले पढ्नै पर्ने कृति हो ।‘

यसपछि ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरिएको थियो । मञ्चमा रहेका कवि तथा गायक मञ्जुलले दर्शकमा रहेका आफ्ना पुराना सहयात्री तथा गीतकार निरनलाई पुस्तक उपहार दिएपछि पुस्तक विमोचन भएको घोषणा गरिएको थियो । यही क्रममा निरनले राल्फाकालमा लेखेको गीत ‘के पाटीमा लेखिएका, हामी खरी अक्षर हौं ?’ को पनि प्रसंग उठेको थियो ।

पुस्तक विमोचनपछि कार्यक्रम फेरि गीत गायन र कविता वाचनतर्फ मोडिएको थियो । ‘सम्झनाका पाइलाहरू’मा कोशीको निकै ठाउँमा चर्चा आउछ । उनीहरूको यात्रा पनि त्यही नदीको निकटबाट गुज्रेको हुन्छ । मीनाको स्वरमा प्रस्तुत गीत ‘कोशी छेउ, उभेको सिमल जत्ति नी बाँच्दिन म’ले त्यही परिवेशलाई सम्झाएको थियो । गीत प्रस्तुतिका क्रममा मञ्जुलले रामेशले सृजना गरेको धुनमा पछि शब्द लेखेको समझ्ना गरेका थिए । त्यस लगत्तै गाइएको ‘मर्छु र म डुंगा बन्छु, आउँदा नदी तार्न सकूँ, मर्छु र म सम्झना हुन्छु, आउँदा आँसु झार्न सकूँ’ले पनि नदी र डुंगाकै बिम्बमार्फत् जीवनपरक भावना व्यक्त गरेको थियो । संगीतकार आभासले यो गीत मञ्जुलको पुरानो गीतसँग्रहबाट आफूले छानेर धुन भरेको जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा मञ्जुलले केही नयाँ कविता वाचन गर्नुभएको थियो । पछिल्लो चरणमा मञ्जुलले लेखेका कविता प्रकृतिसँग जनजीवनलाई जोड्दै कलात्मक धारमा हिँडेका पाइन्छन् । कार्यक्रमको अन्तिम चरणका गीत प्रस्तुत गर्नु पहिले मञ्जुल भन्नुभयो- ‘अब गाइने गीत तपाईंहरू धेरैले सुनेका गीतहरू हुन्; हामी सँगै गाउँ है !’ त्यसपछि सबैको आवाजसँगै ‘आर’शाला क्रमशः गुञ्जन्छन् ‘गाइ त बाँध्यो ढुंग्रोमा मोई छैन, गरीबको चमेली बोल्दिने कोही छैन’ । कार्यक्रमको समापन ‘कोही त भने जहाज हरर’बाट भएको थियो ।   

मञ्जुलको पलेँटीमा गायनतर्फ मीना निरौला, योगेन्द्र उपाध्याय र आभास तथा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, प्रकसनमा सुन्दरकुमार महर्जन र गीटारमा सुरज प्रधान रहेका थिए ।

अंग्रेजी महिनाको अन्तिम हप्ता संचालन हुँदै आएको पलेँटीको अक्टोबरको पलेँटीमा सुमन थापा प्रस्तुत हुनु हुने भएको छ । सुमन थापा संगीतमा गहिरो संलग्नता राख्ने नेत्र विशेषज्ञ हुनुहुन्छ । उहाँले आउँदो पलेँटीमा गीतकार श्रवण मुकारुङका गीत र आभासको संगीतलाई प्रस्तुत गर्नुहुन्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया