नौबिसे–नागढुंगा सडक : घुम्ती घुम्तीमा ट्राफिक प्रहरी, अवरोधबिनाको यात्रा

 असोज १३, २०७६ सोमबार १५:२५:५८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – दशैँको पूर्वसन्ध्यामा त्रिभुवन राजपथको नौबिसे–नागढुंगा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध आएपछि एक सातासम्म यात्रुले दुःख खेपे ।

धादिङबेसीबाट काठमाण्डौ हिँडेका यात्रु १२ घण्टाभन्दा लामो समय सडकमा बस्नु पर्ने अवस्था आयो । लामो र धेरै समयको जामका कारण २ जनाले ज्यान गुमाए । एक जना बिरामीको ज्यान गएको खबर चर्चामा आयो तर एक जना धादिङको बेनिघाट रोराङका बिरामीको ज्यान गएकोबारे सञ्चार क्षेत्र समेत बेखबर रह्यो । 

दशैँका लागि उपत्यकाबाट बाहिरिने यात्रुहरुको संख्यामा वृद्धि हुँदै गएको छ । गएको दुई दिनदेखि नौबिसे–नागढुंगा सडकमा जाम नभएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।

नौबिसे–नागढुंगा सडकमा सात वटा ठूला घुम्तीहरु रहेका छन् । सबै घुम्तीमा ट्राफिक प्रहरी र  जनपथ प्रहरी परिचालन गरिएको छ । जसले गर्दा घुम्तीमा ओभरटेक गर्नेलाई कारबाही गर्ने र जथाभावी ओभरटेकका कारण भएको जाम कम गर्न प्रहरी परिचालन गरी यातायात व्यवस्था सहज बनाइएको धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो  ।

‘नो ओभरटेक जोन’ कार्यान्वयन गरी यसले सुरक्षित र अनुशासित सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ ।व्यवस्थापनमा ध्यान दिइएका कारण यातायात सञ्चालनमा कुनै पनि अवरोध देखिएको छैन । काठमाण्डौबाट सहज रुपमा २ घण्टामा बैरेनी पुग्न सकेको र यात्रा सहज भएको डा. सदानन्द कँडेलले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काका अनुसार विगत एक साता अघिदेखि २०/२५ किलोमिटरसम्म रहेको जाम अहिले शून्यमा पुगेको र दुवैतर्फको सवारी आवागमन सुरु भएको बताउनुभएको छ ।

सडकको एकापट्टि भाग कुलो जस्तै भएको छ । नौबिसेबाट काठमाण्डौर्फ जाँदा देब्रेपट्टिको सडक धेरैजसो ठाउँमा भत्किएर साना सवारी चालउन कठिन हुने अवस्था आएको छ । सवारी चाप बढी हुने समयमा यो सडक पिच गर्न थालिएपछि झनै जाम बढेको थियो ।

शनिबार पनि यो क्षेत्रमा अड्किएका डेढ दर्जन सवारी साधन क्रेनले तानेर आवागमन सहज बनाइएको थियो । दशैँको मुखमा त्रिभुवन राजपथ पिच गर्न थालिएको भए पनि सवारी जाम हुन थालेपछि अहिलेलाई स्थगित गरिएको छ ।

२४ सै घण्टा सवारी आवागमन सहज बनाउनका लागि नागढुंगादेखि महादेवबेसीसम्मको २५ किलामिटर दूरीमा १५ वटा मोटरसाइकलमा क्षेत्र छुट्याएर क्विक रेस्पोन्स टिम (प्रहरी) परिचालन गरिएको  छ । क्विक रेस्पोन्स टिमले २४ सै घण्टा मोटरसाइकलमा गस्ती गरिरहेको छ । सामान्य नियम मिच्नेलाई तत्कालै कारबाही सुरु गरिएको जिल्ला प्रहरी कायाृलयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताउनुभयो ।

आकस्मिक रुपमा राजमार्गको सजिला ठाउँमा भाडादर र यात्रु संख्यालाई छड्के जाँच गरिएको छ । आइतबार संघीय सांसद खेम लोहनीसहित प्रमुख जिल्ला अधिकारी आसमान तामाङलगायतको टोलीले निरीक्षण गरेको छ ।

धादिङबेसीबाट सञ्चालन हुने अन्य यातायातसमेत जाँच गर्ने र सुरक्षित सवारी गर्नका लागि चालकहरुलाई  खादा लगाएर बिदाइ गर्ने जस्ता कार्यहरुसमेत गरेको छ ।
राजमार्गको जाम शून्य बनाउनलाई लामा, भारतीय नम्बर भएका, भारी माल बोकेका, १० चक्केभन्दा ठूला सवारीलाई चितवन र मकवानपुर क्षेत्रमै रोकेर राखिएको छ ।

काठमाण्डौका लागि अत्यावश्यक सामग्री बोकेका बाहेकका गाडी दशैँपछि मात्र काठमाण्डौ पठाइने योजना रहेको छ । सडकमा कुनै समस्या भए तत्काल प्रहरीलाई खबर गरी सहयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया