सवारी चालकलाई ‘शुभ यात्राको कामना’सहित गलामा फूलमाला

 असोज १३, २०७६ सोमबार १६:५७:३० | सन्तोष थापा
unn.prixa.net

पर्वत – ग १ ज ५९५९ नम्बरको यात्रुवाहक बस खचाखच यात्रु लिएर बेनीबाट पर्वतको कुश्माबजारमा रहेको शिवालय चोकमा आइपुग्यो ।

यात्रामा सबैलाई हतार नै थियो । तैपनि केही समय कुश्माबाट पनि यात्रुहरु लैजानुपर्ने भएका कारण रोकिनुपर्ने बाध्यता थियो । यत्तिकैमा ट्राफिकले सिट्ठी बजाए । बस टक्क अडियो, चालक हतासमा देखिए, उनको अनुहार हेर्दा लाग्थ्यो कि कुनै गल्ती गरेकै कारण आफूलाई ट्राफिकले रोक्यो ।

हतास मानसिकतामा देखिएका बसका चालक उत्तम गुरुङले गाडी रोक्नेबित्तिकै ट्राफिकका सहायक प्रहरी निरीक्षक राजेन्द्र पौडेलले कार्यक्रमको बारेमा जानकारी गराएपछि मात्रै उनको मुहारमा खुशी फर्कियो । गुरुङ मात्रै होइन लामो तथा छोटो दूरीका ६ जना सवारी चालकलाई एकैसाथ माल्यार्पण गरी शुभयात्राको कामना सँगै पर्वतमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।

पर्वतमा लामो तथा छोटो दूरीमा सञ्चालन हुने सवारी साधनका चालकहरुलाई फूलमाला र अबिर लगाएर शुभयात्राको कामनासँगै नागरिक सहायता कक्षको स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो ।

‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ भन्ने उद्देश्यका साथ प्रहरीले त्यो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमका अवसरमा लामो तथा छोटो दूरीका ६ जना सवारी चालकहरुलाई माला लगाइदिएर बिदाइ गरिएको थियो ।

माल्यार्पणसँगै पर्वतकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सडक पनि एउटा पाठशाला भएका भन्दै सडकबाट पनि सभ्यता सिक्न सकिने कुरा दोहोर्‍याउँदै सवारी चालकहरुलाई सहज र शुभयात्राको कामना व्यक्त गर्नु भएको थियो ।

प्रायःजसो चाडपर्वको समयमा दुर्घटनाका खबरहरु बढी सुन्नु पर्ने अवस्था रहिआएको बताउँदै सडक र यात्रुको सुरक्षाका लागि चालकको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दुर्घटना न्यूनीकरणका लागि चालक सदैव सचेत रहनुपर्ने बताउँदै यात्रु सहायकता कक्षबाट सेवा लिन नागरिकलाई अनुरोध गर्नुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया