यस वर्षकाे किम्फमा २९ देशका ४८ चलचित्र

 असोज १५, २०७६ बुधबार १९:३९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - हिमाल एसोसियशनले आयाेजना गर्दै आएकाे काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ‘किम्फ’ आउँदाे डिसेम्बर ११ देखि १५ सम्म राष्ट्रिय सभा गृह तथा नेपाल पर्यटन बोर्डको हलमा आयाेजना हुँदैछ ।

१७ औँ संस्करणको किम्फमा नेपालका ४५ सहित ६९ देशका ४२३ ओटा चलचित्रहरुकाे आवेदन परेका थिए । महोत्सवका लागि छनौट समितिले ६९ मध्ये २९ देशका ४८ चलचित्रहरु छनोट गरेको थियो । तीमध्ये १७ चलचित्र प्रतिस्पर्धाका लागि छानिएका हुन् भने बाँकी ३१ चलचित्रहरु अप्रतियोगीका रुपमा छनोट भएका हुन् ।

‘नेपाल पानोरमा’ शीर्षकमा छनोट भएका चलचित्रहरु पछि घोषणा गरिने जनाइएको छ ।

प्रतियाेगितामा उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमश: दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैयाँ प्रदान गरिनेछ । यस वर्षको किम्फको थिम ‘भोइसेज फ्रम दि मार्जिन’ रहेको छ । महोत्सवमा चलचित्र प्रदर्शनबाहेक फोटो प्रदर्शनी, प्यानल डिस्कसन तथा मास्टर क्लास पनि आयाेजना गरिनेछ ।

युवा तथा उदीयमान चलचित्र निर्माताहरुलाइ प्रोत्साहन गर्न परिवर्तित नेपाल थिमको छोटो चलचित्र प्रतियोगिता पनि गरिनेछ । तीन उत्कृष्ट छोटो चलचित्रले क्रमश: चालीस हजार, तीस हजार तथा बीस हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महाेत्सवकाे तीन सदस्यीय अन्तर्राष्ट्रिय मण्डलमा पोल्याण्ड, कोरिया र नेपालका निर्णायकहरु रहेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया