चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गर्न खोजे प्रतिकारमा उत्रने गगन थापाको चेतावनी

 असार ३१, २०७५ आइतबार १५:४२:४ | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जबरजस्ती रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले आफूहरुले संसदमा दर्ता गराएको विरोधको सूचनालाई बेवास्ता गरेर चिकित्सा शिक्षा विधेयक संख्याको आडमा पारित गराउन खोजे प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी दिनुभयो ।

आइतबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उहाँले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संविधानको मर्म र देशको आवश्यक्तालाई सम्बोधन हुने गरी नआएको दावी पनि गर्नुभयो । नेता थापाले विधेयकलाई पारित गराउने सरकारको रवैया रहेकोे उल्लेख गर्दै त्यसलाई स्विकार गर्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पार्नुभयो ।

कांग्रेस नेता थापाले उच्चस्तरीय आयोगमार्फत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्ने सरकारको भनाईमा आफूहरु विश्वास गर्ने पक्षमा नरहेको बताउनुभयो । उहाँले आयोग बनाएर मुलुकको कुनै पनि समस्या समाधान नभएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया