चुनावमा अन्तर्घात गरेकाे भन्दै कांग्रेस जिल्ला सचिवसहित ३३ जनासँग स्पष्टीकरण माग

 असोज १६, २०७६ बिहिबार १४:६:५ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – नेपाली कांग्रेसका जिल्ला सचिव प्रेमबहादुर सिंह रायमाझी सहित जिल्लाका ३३ जना कांग्रेस नेता तथा कार्यकर्तासँग अनुशासन समितिले स्पष्टीकरण मागेको छ । 

जिल्लामा सम्पन्न तीन तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र पार्टीको हित विपरीत काम गरेको भन्दै कांग्रेस नेता तथा कार्यकर्तासँग स्पष्टीकरण माग गरिएको हो । 

अनुशासन समितिले निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा क्षेत्रका क्षेत्रीय सभापति अकिल मियाँ, महासमिति सदस्यहरु ब्रम्हानन्द उपाध्याय, धनश्याम अग्रहरीसँग स्पष्टीकरण माग गरेको छ । 

त्यस्तै महाअधिवेशन प्रतिनिधिहरु दिपक शुक्ला, माधुरी श्रेष्ठ, दुधनाथ उपाध्याय र रीता मिश्रामाथि पार्टी हित विपरीत काम गरेको उजुरी परेको छ । वडा नम्बर ५ का वडाध्यक्ष दिरेप चौधरी, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सह-महामन्त्री प्रकाश घिमिरे, पूर्व जिल्ला सचिव विनोद नेपाललाई पनि पार्टी हित विपरीत काम गरेको, आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा स्पष्टीकरण माग गरिएको छ । 

गएको साउन १० गते बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले यो निर्णय गरेको हो । अनुशासन समितिका संयोजक भिष्मराज आङ्गदाम्बेले जिल्लाका ३३ जना नेता तथा कार्यकर्ताहरुसँग लिखित रुपमा स्पष्टीकरण माग गरेको जानकारी दिनुभयो ।  

यता नेपाल विद्यार्थी संघका केन्द्रीय पूर्व सह-महामन्त्री प्रकाश घिमिरेले भने स्पष्टीकरण माग गरिएको बारे आफूलाई अझै केही थाहा नभएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया