दिल्लीमा ठूलो आतंकवादी आक्रमणको योजनाको आशंका, उच्च सुरक्षा सतर्कता

 असोज १६, २०७६ बिहिबार १४:५५:४४ | एजेन्सी
unn.prixa.net

भारतको राजधानी नयाँ दिल्लीमा नवरात्र र रामलीला पर्वको उत्सव चलिरहँदा आतंकवादी संगठन जैश–ए–मोहम्मदका तीन–चार जना लडाकु घुसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यो खबरपछि नयाँ दिल्ली र राष्ट्रिय राजधानी क्षेत्र (एनआरसी) मा सुरक्षा व्यवस्था थप बलियो बनाइएको छ । दिल्ली पुलिसले आतंकवादी घुसेको जानकारी पाउनसाथ छापा मार्न सुरु गरेको छ । आतंकवादी हमला हुनसक्ने आशंका पनि जनाइएको छ । 

आत्मघाती हमलाको खतरा

जम्मू-कश्मीर र पञ्जाबको वायुसेना बेस क्याम्पमा पहिलेदेखि नै  आत‌ंकवादी संगठनले आत्मघाती आक्रमणको चेतावनी दिएका छन् । अमृतसर र पठानकोट एअरबेसमा पनि सुरक्षा बल परिचालन गरिएको छ ।

भारतीय सञ्चारमाध्यम इण्डिया टुडेको रिपोर्टअनुसार जासुसी एजेन्सीहरुले  जैशका ८ देखि १० आतंकवादीहरु आत्मघाती हमलाको तयारीको लागि घुमिरहेको चेतावनी दिएका थिए । 

श्रीनगर, जम्मू, अवन्तीपुर, पठानकोट र हिन्डन एअरबेसमा अरेन्ज अलर्ट जारी गरिएको छ । रेड अलर्टपछि अरेन्ज अलर्ट दोस्रो सबैभन्दा ठूलो अलर्ट हो । 

केही दिनअघि मात्र हरियाणाबाट जैश-ए-मोहम्मदका केही आतंकवादीहरु पक्राउ परेका थिए । जम्मू-कश्मीरको पुलवामा जिल्लामा गएको फेब्रुअरीमा भएको आक्रमणपछि आतंकवादी संगठन लगातार भारतीय सीमामा घुस्ने प्रयास गर्दै आइरहेका छन् । 

उत्तर प्रदेशका केही ठाउँमा पनि संदिग्ध आतंकवादीहरु घुमिरहेकाे खबरहरु प्रकाशित भएका छन् । ती क्षेत्रहरुमा प्रहरीले लगातार छापा मारिरहेको छ । सहारनपुर, बुलन्दशहर, अमरोहा, अलीगढ जस्ता शहरका कैँयौ क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएकाे छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया