जुम्लाका खुद्रा पसलमै राखिन्छन् डिजेल,पेट्रोल र ग्याँस : दुर्घटनाकाे उच्च जाेखिम

 असोज १६, २०७६ बिहिबार १८:२७:३१ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाका बजार क्षेत्रका पसलमा जथाभावी रुपमा डिजेल, पेट्रोल र ग्याँस राख्ने काम भैरहेको छ । खुद्रा पसलमा पनि इजाजतबिना नै डिजेल, पेट्रोल र ग्याँस राख्ने गरिएको छ । 

यस्तो लापर्वाहीले एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतिर उपभोक्ताहरु ठगिँदै गएका छन् । पेट्रोल पम्पले भने जति सप्लाइ दिन नसक्दा बाहिरी खुद्रा पसलमा भने बोत्तलमा नै पेट्रोल सजिलै पाइन्छन् । यस्तो हुँदा कतिबेला आगलागी हुन्छ भन्ने डर बढेकोे उपभोक्ताले बताउँदै आएका छन् । 

नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले यसरी जथाभाबी पेट्रोल र डिजेल पनि सडक पेटीमा राख्ने गरे पनि सरोकारवालहरु मौन रहेको गुनासो गर्नुभयो । यसरी बिनाअनुमति राखिने सामानहरुले समस्या निम्तिन सक्ने हुँदा चाँडै हटाइनु पर्ने उहाँको भनाइ छ । 

प्रशासनको छड्के  

यो  विषयमा सर्वत्र गुनासो बढेपछि स्थानीय प्रशासनले दशैँको मुखमै छड्के अनुगमन सुरु गरेको छ ।  प्रशासनले झण्डै २० ओटा पसलमा गरेको अनुगमनमा आधा दर्जनभन्दा बढी पसलले इजाजत नै नलिइ एकै ठाउँमा डिजेल, पेट्रोल तथा ग्याँस राखेकोे भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिनुभयो । उहाँकाअनुसार त्यस्ता पसललाई अल्टिमेटम दिएर सुधार्न चेतावनी दिइएको छ । 

जिल्लामा एउटा मात्रै पेट्रोल पम्प भएकाले आपूर्ति दिन नसक्दा अन्य व्यापारीले पनि पेट्रोल बेच्दै आइरहेका छन् । सुष्मा आयल स्टाेर्स जुम्लाले मात्रै जुम्लामा बिक्री, वितरणका लागि अनुमति लिएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख श्रवणकुमार महताराले जानकारी दिनुभयो । 

यसैगरी जिल्लामा पेट्रोल आपूर्तिको अवस्थाको बारेमा अवलोकन गर्न सहायक प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित टोली सुष्मा आयल स्टाेर्स पुगेर अवस्था अवलोकन गरेको छ । अनुगमनका क्रममा सुष्मा आयल स्टाेर्सका प्रबन्धक महेन्द्र थापाले बिजुलीको अभावमा आपूर्ति असहज भएको र बिजुली भए जुम्लालाई पुग्नेगरी डिजेल र पेट्रोल उपलब्ध गराउन सकिने बताउनुभयो । 

उहाँले ट्यांकीमा १६ हजार पाँच सय लिटर तेल अटाउने र त्यसले जुम्लालाई १५ दिनसम्म पुग्ने दावी गर्नुभयो । उहाँले राज्यलाई वार्षिक १० लाख रुपैयाँ राजश्वसमेत तिर्ने गरेको बताउनुभयो । 

यसैगरी प्रशासनले यातायातको सहजता, मिति नाघेका सामान, मासु तथा मिठाइको समेत अनुगमन गरी नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया