नारायणी नदीमा २ वर्षभित्र पानी जहाज चलाउन सकिने

 असार ३१, २०७५ आइतबार १७:३७:३३ | अर्जुन पोख्रेल

काठमाडौं – प्राथमिकता दिएर काम गरेमा अबको २ वर्षभित्र नारायणी नदीमा पानी जहाज चलाउन सकिने निष्कर्ष निक्लेको छ ।

नेपाली र भारतीय अधिकारीहरुबीच काठमाडौंमा भैरहेको छलफलले तीव्र गतीमा काम गरेमा अबको २ वर्षभित्र नारायणी नदीमा पानीजहाज चलाउन सकिने निष्कर्ष निकालेको छ ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको छलफलको नेतृत्व नेपालको तर्फबाट जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्बासे र भारतको तर्फबाट भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणका विज्ञ प्रवीर पाण्डेले गर्नुभएको छ । प्रारम्भिक छलफलले भारतले पनि नेपालका जस्तै नदीमा पानीजहाज चलाइरहेको र नेपालले पनि छिटै नै चलाउन सक्ने निष्कर्ष निकालेको वार्तामा सहभागी जल तथा उर्जा आयोगका सहसचिव बेल्बासेले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

‘नेपालमा जल यातायातलाई निकै नै ठूलो विकासको आयोजना र सपनाको आयोजना भनिएको रहेछ, तर यो त छोटो समयमै पूरा हुने परियोजना हो’ भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणका वरिष्ठ अधिकारी प्रवीर पाण्डेको भनाइ उद्धृत गर्दै जल तथा उर्जा आयोगका सहसचिव बेल्बासेले भन्नुभयो, ‘नेपालमा जल यातायात सम्भव मात्रै होइन प्रचुर सम्भावना नै छ, यसको लागि दुवै देशका सरकारले गम्भीर भएर काम गर्नुपर्छ ।’

आइतबारको छलफलमा भारतले अहिले कुन कुन नदीमा कसरी पानी जहाज चलाइरहेका छन्, बन्दरगाहको कसरी व्यवस्थापन गरेको छ, भारतले अहिले निर्माण गरिरहेका जल यातायातको अवस्थालगायतका विषयमा छलफल भएको थियो । 

नारायणीमा पानीजहाज चलाउन सजिलो

आइतबारको छलफलमा भारतीय र नेपाली अधिकारीले भारतमा कसरी पानी जहाज चलेका छन् र नेपालमा कसरी चलाउन सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए । छलफलमा भारतबाट आएका भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणका विज्ञले नेपालमा पानीजहाज चलाउन सकिने/नसकिने भन्दा पनि कसरी चाँडै चलाउन सकिन्छ भन्ने बारेमा छलफल केन्द्रीत गर्न सुझाव दिएका थिए । 

छलफलमा नेपालको तर्फबाट पानीजहाज/जल यातायातको लागि कोशी र नारायणी नदी उपयुक्त रहेको भन्दै केही तथ्य प्रस्तुत भएको थियो । त्यसलाई ससर्ती हेर्दा भारतीय विज्ञले नारायणी नदी विशेषगरी गण्डक ब्यारेज वरपरसम्मको भागमा पानीजहाज चलाउन सजिलो हुने प्रतिक्रिया दिएका थिए । 

‘तुलनात्मक रुपमा कोशी नदीमा भन्दा नरायणी नदीमा पानीजहाज चलाउन सजिलो हुने देखिएको छ’ भारतीय विज्ञलाई उद्धृत गर्दै जल तथा उर्जा आयोजनाका सह सचिव  वेल्वासेले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘अर्को मनसुनसम्म अध्ययन पूरा गर्न सकिन्छ र त्यसको एक डेढ वर्षमा त जहाज नै चलाउन सकिन्छ, त्यसको लागि गण्डक ब्यारेजको आसपासमा अस्थायी स्टेशन बनाउन सकिन्छ ।’

तर उत्साहित मात्रै नभई नेपालले यो क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा भारतीय पक्षको सुझाव थियो । भारतले पनि अमेरिका र बेलायतबाट प्राविधिकहरु ल्याएर सुरुमा अध्ययन गरेकोले नेपालले पनि चाँडै नै विदेशी प्राविधिक ल्याएर अध्ययन थालिहाल्नुपर्ने सुझाव पनि भारतीयले दिएका छन् । 

सडक र रेलभन्दा सस्तो

पानी जहाज सडक यातायात र रेल यातायात भन्दा सस्तो भएकाले नेपालले यसबाट धेरै लाभ लिन सक्ने छलफलको प्रारम्भिक निष्कर्ष रहेको छ । निर्माणको चरणमा पनि र निर्माणपछि पनि जल यातायात अरु यातायात भन्दा सस्तो भएकाले नेपालले यसबाट पर्याप्त लाभ लिन सक्ने भारतीय विज्ञको भनाइ छ  ।

तर नेपालका ठूला नदीमा भएका पुल बाधक बन्न सक्ने, केही स्थानमा नदीको गहिराई कम भएकोलगायतका समस्या देखिएकाले यसतर्फ पनि ध्यान दिनुपर्ने भारतीयको सुझाव रहेको थियो । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • जगदिश्वर पोखरेल

    July 16, 2018, 9:36 p.m.

    आगामी दशैमानै 1/2वटा संचालन मा आवस

  •  0 Reply

तपाईको प्रतिक्रिया