विद्युत प्राधिकरणले अत्याधुनिक भार प्रेषण केन्द्र सञ्चालनमा ल्यायाे, विद्युत आपूर्ति थप भरपर्दो हुने

 असोज १८, २०७६ शनिबार १२:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले अत्याधुनिक भार प्रेषण केन्द्र सञ्चालनमा ल्याएको छ । प्राधिकरणले देशभरको विद्युत् व्यवस्थापन र नियन्त्रण गर्ने अत्याधुनिक भार प्रेषण केन्द्र (एलडीसी) सञ्चालनमा ल्याएको हो । 

विक्रम संवत २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षति पुगेको केन्द्रको पुनस्र्थापना र स्तरोन्नति गरी अत्याधुनिक बनाइएको हो । काठमाण्डौको स्यूचाटारमा रहेको अत्याधुनिक केन्द्रको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनु भएका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र जर्मनीका मन्त्री नोरर्बेट बार्थलेले उद्घाटन गर्नुभयो ।

कम्युटरमा आधारित सुपरिवेक्षणीय नियन्त्रण तथा डाटा प्राप्ति (स्काडा) को पछिल्लो नयाँ भर्जन प्रयोग गरिएकाले केन्द्रबाट देशको एकीकृत विद्युत प्रणालीलाई नियन्त्रण गरी प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

‘पुरानो प्रविधि र उपकरण प्रयोग गर्दा विद्युत प्रणाली प्रभावकारी रुपमा सञ्चालन गर्न समस्या थियो’ घिसिङले  भन्नुभयो ‘अब सर्भर, मोनिटर लगायत हार्डवेयर र सफ्टवेयरमा पछिल्लो प्रविधि प्रयोग गरिएको छ, यसको प्रभावकारी सञ्चालनबाट विद्युत प्रणालीको विश्वसनीयता, स्थायित्व र सुरक्षा बढाउँदै गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित हुनेछ ।’

उहाँले अब केन्द्रबाट विद्युत् माग र आपूर्तिलाई अझै प्रभावकारी र दक्षतापूर्ण रुपमा व्यवस्थापन तथा सञ्चालन गर्न सकिने हुँदा प्राधिकरणलाई वित्तीय फाइदा पुग्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्री पोखरेलले केन्द्र देशको विद्युत् माग र आपूर्ति व्यवस्थापनको मेरुदण्ड भएकाले नयाँ जडान गरिएको प्रविधिबाट केन्द्रको प्रभावकारी सञ्चालनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

जर्मनीका मन्त्री बार्थलेले केन्द्रको आधुनिकरणसँगै दिगो विद्युत आपूर्तिमा सुधार हुने धारणा राख्नुभयो । जर्मन सरकारले जर्मन विकास बैँक (केएफडब्लू) मार्फत उपलब्ध गराएको झण्डै २५ लाख ३० हजार युरो अनुदानमा केन्द्रको आधुनिकरण गरिएको हो । परियोजनाको काम विक्रम संवत २०७४ को माघ महिनाबाट सुरु भएको थियो । 

यही परियोजनाअन्तर्गत हेटौँडामा आपत्कालीन नियन्त्रण केन्द्र स्थापना गरिएको छ । हेटौँडामा पनि स्यूचाटरमाजस्तै अत्याधुनिक उपकरण प्रयोग हुनेछ । प्रणालीलाई काठमाण्डौबाट सञ्चालन गर्न नसकिएमा आपत्कालीन रुपमा हेटौँडाबाट सञ्चालन गर्न सकिने छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया