विश्वकप फुटबल: कसले कति रकम पुरस्कार पाउँछन् ?

 असार ३१, २०७५ आइतबार १८:४५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हाे । हरेक चार वर्षमा आउने फुटबलको महाकुम्भको २१औं संस्करण रुसमा अाज सकिँदैछ ।
 
आज राति पौने ९ बजे फ्रान्स र क्रोएसियाबीच फाइनल खेल रुसको लुज्निकी रंगशालामा सुरु हुनेछ ।खेलकाे समाप्तिसँगै विश्वकपको औपचारिक समापन हुनेछ ।
 
विश्वकपजस्तो सबैभन्दा ठूलो फुटबल मेलामा हुने खर्च कति होला ? वा सहभागी टिम र उपाधि विजेता टिमले कति पुरस्कार पाउलान् ? यो सबैको चासोको विषय हो ।

यथार्थ के हो भने विश्वकपमा सहभागी हुने ३२ वटै टिमले नगद पुरस्कार पाउँछन् । त्यसबाहेक सबै टिमलाई प्रति टिम १५ लाख डलर तयारी खर्च पनि दिइन्छ ।
 
विश्वकपमा सहभागी भई समूह चरणबाटै बाहिरिने वा समूहको एउटा पनि खेल नजित्ने टोलीले ८० लाख डलर पाउँछन् । तयारी खर्च १५ समेत जोड्दा यो रकम ९५ लाख अमेरिकी डलर हुन आउँछ ।
 
यसपटक इजिप्ट, साउदी अरेबिया, मोरक्को, इरान, पेरु, अष्ट्रेलिया, नाइजेरिया, आइसल्याण्ड, सर्विया, कोष्टारिका, दक्षिण कोरिया, जर्मनी, पानामा, ट्युनिसिया, सेनेगल र पोल्याण्ड समूह चरणबाटै बाहिरिए । उनीहरु सबैले १५ लाख तयारी खर्चसमेत गरी जनही ९५ लाख अमेरिकी डलर पाएका छन् ।
 
समूह चरण पार गरी अन्तिम १६ मा पुगेका टोलीले १ करोड २० लाख अमेरिकी डलर पुरस्कार पाउँछन् । यो रकम १५ लाखको तयारी खर्च बाहेकको हो ।

यसपटक अर्जेन्टिना, मेक्सिको, पोर्चुगल, स्वीट्जरल्याण्ड, स्पेन, जापान, कोलम्बिया र डेनमार्क प्रिक्वार्टरफाइनलबाट बाहिरिए ।
 
क्वार्टरफाइनलमा पुग्ने हरेक टोलीले १ करोड ६० लाख नगद पुरस्कार पाउँछन् । यो पनि १५ लाख तयारी खर्च बाहेकको हो । यसपटक ब्राजिल, उरुग्वे, रुस, स्वीडेन क्वार्टरफाइनलबाटै बाहिरिए । उनीहरु चारै टोलीले तयारी खर्चसहित १ करोड ७५ लाख पाए ।
 
विश्वकपको अन्तिम चार स्थानमा रहने टोलीले फरक फरक पुरस्कार पाउनेछन् ।

सेमिफाइनलमा पराजित भएका दुई टोलीले तेस्रो स्थानका लागि खेलेका थिए । जसमा इंग्ल्याण्डलार्इ बेल्जियमले पराजित गरेकाे थियो ।
 
त्यसैले बेल्जियमले तेस्रो पुरस्कारस्वरुप २ करोड ४० लाख अमेरिकी डलर पाएको छ भने इंग्ल्याण्डले २ करोड २० लाख डलर पाएको छ । यसमा १५ लाख तयारी खर्च समावेश गरिएको छैन ।
 
यसपटकको विश्वकप फाइनलिष्ट टोलीका लागि पुरस्कारबापत ६ करोड ६० लाख डलर वितरण गरिनेछ ।

विश्व विजेता टिमले ६ केजी सुनको ट्रफीका साथै ३ करोड ८० लाख डलर पुरस्कार पाउनेछ ।

उपविजेता टोलीले २ करोड ८० लाख डलर पुरस्कार पाउनेछ । १ करोड डलरको फरक  रहेको विश्वकप फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।
 
रुस विश्वकपमा पुरस्कार राशी अघिल्लो संस्करणमा भन्दा केहि वृद्धि गरिएको हो ।

अघिल्लो संस्करणको विजेता जर्मनीले ३ करोड ५० लाख डलर पुरस्कार पाएको थियो । कतारमा सन् २०२२ मा हुने विश्वकपमा पनि पुरस्कार रकम बढ्न सक्ने सम्भावना छ ।


खेलाडीले कति पाउँछन् ?

 
विश्वकपमा सहभागी मुलुकका खेलाडीले कति कमाउँछन्? यो पनि सबैको चासोको विषय हो ।
 
फिफाले खेलाडीलाई नै तोकेर पुरस्कार वा सहयोग रकम प्रदान गर्दैन । तर, फिफाबाट सम्बन्धित मुलुकका संघलाई आएको रकम संघले खेलाडीका लागि पनि छुट्याउँछ ।
 
अघिल्लो संस्करणको विश्व विजेता जर्मनीका खेलाडीले प्रतिव्यक्ति ४ लाख ८ हजार डलर बोनस पाएका थिए ।

त्यसबाहेक आफ्ना प्रायोजकहरुबाट पनि उनीहरुलाई पैसा असुल्न छुट हुन्छ । यद्यपि क्लबबाट आउने पारिश्रमिकभन्दा देशका लागि खेल्दा आउने पारिश्रमिक थोरै हुन्छ ।
 
त्यसकारण फिफाले देशलाई मात्र होइन, खेलाडी आवद्ध क्लबलाई पनि रकम दिन्छ ।विश्वकपमा यसपटक कूल सात सय ३६ खेलाडी कुनै न कुनै क्लबमा आवद्ध थिए ।

जसमा फिफाले सबैलाई गरेर सात करोड डलर छुट्याएको छ । यसको अर्थ क्लबले एक दिनको २ हजार ८०० अमेरिकी डलर पाउँछन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया