दैलेखमा टीका लगाउन हिँडेका दम्पतीको खोलाले बगाएर ज्यान गयाे

 असोज २२, २०७६ बुधबार ९:२१:५७ | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेखको दुल्लु नगरपालिका–११ कालभैरवमा टीका लगाउन हिडेका श्रीमान र श्रीमतीको खोलाले बगाएर ज्यान गएको छ ।

टीका लगाउन माइत जाने क्रममा ४० वर्षीया खगिसरा सुनार र उहाँका श्रीमान ४५ वर्षका इन्द्रबहादुर सुनारको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

इन्द्रबहादुरको शव माछा थुन्न बनाएको ‘सरिल’मा अड्किएको र खगिसरा त्यहाँदेखि अलि माथि खोलामै डुबेर ज्यान गएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

माथि मालीघाट र तल कुयलकुना पुग्न झण्डै एक–एक किलोमिटर हिँड्नुपर्ने भएकोले छोटो बाटोको लागि पहिलेदेखि नै तर्ने गरेको स्यालखाडा घाटबाट कोटिला निस्कन लाग्दा पानीको बहावले धकेलेर दम्पतीलाई बगाएको हुनसक्ने दुल्लु नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्रबहादुर थापाले बताउनुभयो ।

घरबाट साँझ अबेर हिँडेका र खोला तर्दै गर्दा कसैले देखेको कारण राति माछा मार्ने जलारीले ‘सरिल’मा अड्किएको शव फेला पारेका हुन् । इन्द्रबहादुरले दशैँको दिन अलि बढी रक्सी खाएका कारण अरु दिन तर्ने गरेको घाट तर्न बल नपुगेर खोलाले बगाएको हुनसक्ने वडाध्यक्ष थापाको अनुमान छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया