सुनको जुत्ता ह्यारी केनलाई, लुका मोड्रिचलाई सुनको बल

 असार ३१, २०७५ सोमबार ०:०:४३ | एजेन्सी
unn.prixa.net

रुसमा २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न भएको छ । फाइनलमा क्रोएसियालाई पराजित गरी फ्रान्सले उपाधि जितेको छ । २० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो ।
                      
यस पटक फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय उदाउँदा सुपरस्टार केलियन एम्बाप्पेले शानदार प्रदर्शन गरे । उनले विश्वकपको उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाए ।
 
विशेष गरी अर्जेन्टिनालाई पराजित गर्ने क्रममा शानदार दुई गोल गरेका एमबाप्पेले फाइनलमा क्रोएसियाविरुद्ध पनि एक गोल गरेका छन् । विश्वकप फाइनलमा गोल गर्ने उनी पेलेपछिका किशोर खेलाडी बनेका छन् । पेलेले सन् १९५८ को विश्वकप फाइनलमा स्विडेनविरुद्ध १७ वर्षको उमेरमा गोल गरेका थिए ।
 
टिमले उपाधि जित्न असफल भए पनि क्रोएसियाली कप्तान लुका मोड्रिचले विश्वकपको उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल पुरस्कार पाएका छन् ।
 
रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्ने मोड्रिच क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याउने नायक मध्येका एक हुन् । उनले क्रोएसियाली टिमको नेतृत्व गरेका थिए ।
 
विश्वकपमा इंग्ल्याण्डले चौथो स्थानमा चित्त बुझायो । तर, उसका कप्तान तथा मुख्य स्ट्राइकर ह्यारी केनले सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट पुरस्कार पाए उनले विश्वकपमा सर्बाधिक ६ गोल गरे । ह्यारी केन अवार्ड वितरण समारोहमा उपस्थित थिएनन् । 
 
विश्वकपको उत्कृष्ट गोलरक्षक बेल्जियमका थियागो कोट्वा बने । चेल्सीका स्टार गोलरक्षक कोट्वाले विश्वकपमा उत्कष्ट प्रदर्शन गरेका थिए । बेल्जियमले भने विश्वकपमा तेस्रो स्थानमा चित्त बुझाएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया