चिनियाँ राष्ट्रपतिको भ्रमणमा सुपुर्दगी सन्धिमा तत्कालै हस्ताक्षर नहुने: ऋणमा डुबेर रेल नल्याउन भट्टराईको सुझाव

 असोज २३, २०७६ बिहिबार १४:५६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबारदेखि हुने भ्रमणका विषयमा पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहुन्थ्यो ।

छलफलमा परराष्ट्रविद, पूर्व परराष्ट्रमन्त्री लगायतका नेता तथा विज्ञहरु पनि सहभागी रहेको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । छलफलका सहभागीले चिनियाँ राष्ट्रपति सीको भ्रमणका बेला नेपालले उठाउनुपर्ने आपसी हितका मुद्दा, सहमति र सम्झौता हुने विषय लगायतका बारेमा सुझाव दिएका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल छिमेकीको सम्बन्ध रहिआएकाले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाण्डौ रेलमार्ग निमार्णको लगानीको ढाँचाबारेसमेत छलफल गरिने उल्लेख गर्नुभयो ।

बैठकमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ऋणमा डुबेर चीनबाट रेल ल्याउने विषय नउठाउन सुझाव दिनुभएको थियो । यसैबीच सरकारले तत्कालै चीनसँग सुपुर्दगी सन्धि नहुने स्पष्ट पारेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्व पराराष्ट्रमन्त्री र परराष्ट्रविद्हरुसँग वालुवाटारमा गरेको छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपतिको अहिलेको भ्रमणमा यो सन्धिमा हस्ताक्षर नहुने जानकारी दिनुभएको हो ।

उहाँले यो सन्धिका बारेमा छलफल भैरहेको तर अहिले नै हस्ताक्षर गर्ने तयारी नरहेको जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया