भलिबल एकेडेमी उद्घाटन, खेलाडी सम्मान, छात्रवृत्तिको घोषणा

 जेठ ८, २०७५ मंगलबार २०:२८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर, जेठ ८ – राष्ट्रिय भलिबल दिवसको अवसरमा मंगलबार भक्तपुरमा भलिबल एकेडेमीको उद्घाटन र खेलाडीलाई सम्मान गरिएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबललाई विद्यालयस्तरबाटै विद्यार्थीहरुलाई प्रशिक्षण दिएर उत्कृष्ट खेलाडी उत्पादन गर्ने उदेश्यले मध्यपुरथिमिको कौशलटारमा रहेको जनप्रेमी इङ्गलिस सेकेण्डरी स्कूलले आयोजना गरेको कार्यक्रममा खेलाडीलाई छात्रवृत्ति समेत दिइने घोषणा गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले विद्यालयले सञ्चालनमा ल्याएको जनप्रेमी ग्रासरुट भलिबल एकेडेमीको उद्घाटन गर्नुभयो । त्यसैगरी विद्यालयले घोषणा गरेको वर्षका उत्कृष्ट भलिबल खेलाडी अशोका देवकोटा सहित भलिबल खेलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त नेपाल प्रहरीकी खेलाडी कामना विष्ट, भलिबलका अन्तर्राष्ट्रिय खेलाडी सरस्वती चौधरी, पूर्वअन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल प्रहरीका भलिबल प्रशिक्षक सरोज श्रेष्ठ, जनप्रेमीका भलिबल प्रशिक्षक एवं नेपाल प्रहरीका खेलाडी रुपेश बिष्टलाई नगद पुरस्कार सहित ताम्रपत्र प्रदान गरेर सम्मान गरेको छ । 

छात्रवृत्तिको घोषणा

कार्यक्रममा जनप्रेमी इङ्गलिस सेकेण्डरी स्कूलले भलिबल खेलमा रुची राख्ने २४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल निलेश आचार्यले विद्यालय तहदेखि नै भलिबल खेलाडी उत्पादन गर्ने उदेश्यले यस विद्यालयमा कक्षा ६ देखि ८ सम्म पढ्ने ६ छात्र र ६ छात्रा गरी १२ जनालाई पढाईमा पूर्ण रुपमा छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभयो ।

 

त्यसैगरी जनप्रेमी कलेजका तर्फबाट समेत कक्षा ११ र १२ अध्ययन गर्ने थप ६ छात्र र ६ छात्रा गरी १२ जनालाई पढाईमा पूर्ण रुपमा छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभयो । विद्यालयले सञ्चालन गरेको एकेडेमीमा विद्यार्थीहरुलाई भलिबल प्रशिक्षण दिने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बस्नेतले सूर्यविनायक नगरपालिकाको नलिञ्चोकमा ५०० रोपनी जग्गामा अन्तर्राष्ट्रियस्तरको रंगशाला र दधिकोटको चित्रपुरमा विशाल कभर्ड हल निर्माण गर्ने तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘भक्तपुरमा रंगशाला र कभर्ड हल बनाउने कार्यको अन्तिम चरणमा पुगेका छौं, दुईदिनभित्र मन्त्रीसँग छलफल गरेर  यसको प्रारम्भिक काम गर्नेछांै, अब एउटा सहरमा एउटा खेल मैदान आवश्यक छ ।’

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्द, अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले भलिबल खेलको विकासमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया