सन्दीप लामिछानेआवद्ध टिम बार्बाडोसले जित्यो सीपीएलको उपाधि

 असोज २६, २०७६ आइतबार ८:०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली युवा स्टार सन्दीप लामिछाने अनुबन्धित बार्बाडोस ट्रिडेन्टले क्यारेवियन प्रिमियर लिग (सीपीएल)को उपाधि उचालेको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा आइतबार सम्पन्न फाइनलमा गुएना अमेजन वारियर्सलाई २७ रनले हराउँदै बार्बाडोसले उपाधि जितेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको बार्बाडोसले ६ विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको थियो । उसका लागि सातौं नम्बरमा ब्याटिङमा आएका जोनाथन कार्टरले २७ बलमा ५० रनको विष्फोटक अर्धशतकीय पारी खेलेका थिए । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

त्यसबाहेक ओपन जिम्मी चार्ल्सले पनि २२ बलमा ३९ रन जोडेका थिए । एलेक्स हेल्सले २८, सकिव उल हसनले १५ तथा एस्नले नर्सले अविजित १९ रन बनाए ।

जवाफमा गुएनाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४४ रनमात्र जोड्न सक्यो । गुएनाका लागि ओपनर ब्रेन्डोन किंगले सर्वाधिक ४३ रनको पारी खेलेका थिए । उनले ३३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । निकोलास पुरनले २४ रन जोडे ।

गुएनाको पारी कमजोर बनाउन रेमोन रिफरले ४ विकेट लिए । उनले ४ ओभरमा २४ रनमात्र खर्चिए । त्यस्तै ह्यारी गुर्ने र एस्ले नर्सले पनि २-२ विकेट लिए । कार्टर म्यान अफ द फाइनल चुनिए ।

राष्ट्रिय टोलीबाट सिंगापुर र ओमानको शृंखला खेल्न आउनुअघि नेपाली स्टार सन्दीप लामिछानेले बार्बाडोसका लागि ६ खेलमा ८ विकेट लिएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया