घरेलु भूमिमा लगातार ११ ओटा टेस्ट सिरिज जित्ने कीर्तिमान भारतकाे नाममा

 असोज २६, २०७६ आइतबार १७:५४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा भारत विजयी भएको छ । तीन खेलको श्रृङ्खलामा भारत दुई-शून्यले अघि हुँदा सिरिज पनि आफ्नो पक्षमा पारेको छ ।  

यो जितसँगै भारत घरेलु भूमिमा लगातार ११ ओटा टेस्ट सिरिज जित्ने कीर्तिमान बनाएको भारतले दोस्रो टेस्टमा पाहुना टोली दक्षिण अफ्रिकालाई एक इनिङ्स र एक सय ३७ रनले हरायो ।

घरेलु भूमिमा लगातार दुई पटक १० ओटा सिरिज जितेको अष्ट्रेलिया दोस्रो स्थानमा छ भने लगातार आठ ओटा सिरिज जितेको वेस्ट इण्डिज तेस्रो स्थानमा रहेको छ । 

पुनेमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा पाँच विकेट गुमाउँदै ६ सय एक रनको विशाल योगफल तयार पार्दा इनिङ्स सकिएको घोषणा गरेको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले दोहोरो शतक बनाए भने मयंक अग्रवालले शतक बनाए । कोहलीले दुई सय ५४ रनको पारी खेल्दा अग्रवालले एक सय ८ रन बनाए । त्यस्तै रविन्द्र जडेजाले ९१, अजिन्क्या राहाणेले ५९ र चेतेश्वर पुजाराले ५८ रनको योगदान गरे ।

जवाफमा दक्षिण अफ्रिका पहिलो पारीमा मात्र दुई सय ७५ रनमा अलआउट भयो । त्यसपछि दोस्रो पारी सुरु गरेको दक्षिण अफ्रिका मात्र एक सय ८९ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

दक्षिण अफ्रिकाका लागि डिन एल्गरले ४८ रन बनाउँदा तेम्बा बुभावाले ३८ रनको योगदान गरे । उसलाई कम योगफलमा रोक्न रविन्द्र जडेजा र उमेश यादवले समान तीन/तीन विकेट लिए । 

यी दुईबीचकाे तेस्राे तथा अन्तिम टेस्ट शनिबारबाट राँचीमा सुरु हुँदैछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया