राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

 असोज २६, २०७६ आइतबार २०:२८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आइतबार राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीकाप्रसाद ग्रहण गर्नुभएको छ ।

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नाइके कृष्णकुमार वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराएर नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । विगतका वर्षहरुमा दर्शन गरेर प्रसाद ग्रहण गरी फर्कने गरे पनि यस वर्ष भने राष्ट्रपति भण्डारीले नवदुर्गा नाचसमेत अवलोकन गर्नु भएको छ ।

राष्ट्रपतिसमक्ष नवदुर्गा नाचअन्तर्गत देवगणहरु श्याम वनमालाले गणेश, अनिल वनमालाले ब्रम्हायणी, मंगलाल वनमालाले महेश्वरी, लक्ष्मीप्रसाद वनमालाले कुमारी र शिवकृष्ण वनमालाले भद्रकालीको नाच प्रर्दशन गर्नुभएको थियो ।

राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणहरुलाई जनही १००५ रुपैयाँका  दरले दक्षिणा दिनुभएको थियो । अपरान्ह पौने ५ बजे मन्दिर पुग्नु भएको राष्ट्रपति भण्डारी पौने एकघण्टामा फर्कनु भएको थियो ।

कार्यक्रममा श्री देवगण तथा मन्दिर व्यवस्थापन संस्थालाई जात्रा सञ्चालनार्थ अक्षयकोष स्थापनाका लागि जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले १५ लाख रुपैयाँ र उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले ५ लाख रुपैयाँ गरी जम्मा २० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

त्यस अवसरमा तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले राष्ट्रपति भण्डारीलाई तलेजुको मूल प्रसाद प्रदान गर्दै आर्थिक अभाव र पारिश्रमिक नहुँदा तलेजुको परम्परागत पर्वहरु बन्द गर्नुपर्ने अवस्थामा पुगेकाले सरकारमार्फत सहयोग गरिदिन आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरमा प्रतिनिधि सभाका सांसद महेश बस्नेत, प्रदेश सांसदहरु शशिजंग थापा, सरस्वती वाटी, रजनी जोन्छे, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख विना बास्तोला, मध्यपुरथिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मीलगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुले स्वागत गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया