नेपालले अब भू-जडित देशकाे रुपमा विश्वमा आफ्नाे भूमिका स्थापित गर्छ : उपप्रधानमन्त्री पाेखरेल

 असोज २७, २०७६ सोमबार १४:१४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताउनुभएको छ । 

‘सिल्क रोड युथ फोरम’ ले सोमबार राजधानीमा आयोजना गरेको ‘चाइना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले चीन र नेपालमा कम्युनिष्ट पार्टीको सरकार रहेको सन्दर्भमा सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृृत्वमा रहेको सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताउनुभएको हो । 

नेपालका कम्युनिष्टहरुले जनतासँग गरेको प्रतिबद्धताअनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दै उहाँले चिनियाँ कम्युनिष्टहरुकै पथमा नभइ नेपालको विशेषताअनुसार फरक ढंगले अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको उल्लेख गर्नुभयो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको क्रममा नेपाललाई भू-परिवेष्ठितबाट भू-जडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दै उहाँले अब भू-जडित देशको रुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताउनुभयो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चीन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उहाँले आगामी दिनमा मित्रतालाई थप उचाइमा पुर्‍याउने प्रस्ट पार्नुभयो । 

राष्ट्रपति सीको भ्रमणअघि कतिपयले चीन सरकारसँग के के माग्छौ ? भनेर व्यङ्ग्य गरेको स्मरण गर्दे उहाँले नेपाल सरकार छिमेकी देशसँग्को मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय मानिसहरुले राष्ट्रपतिको भ्रमणअघि पहिला तिमी नेपालीहरुको हातमा के के सपिङ लिस्ट छ ? भनि जिज्ञाशा राखे । हामीले त्यसबेला भनेका थियौँ- हामी सपिङ लिस्ट लिएर बसेका छैनौँ । हाम्रो मित्रताले उचाइ प्राप्त गर्नुपर्छ भन्ने हाम्रो विचार हो भनेर सुनाएका थियौँ । त्यस हिसाबले भ्रमणले दुई देशबीचको मित्रताले उचाइ प्राप्त गरेको छ । यो मित्रतालाई हामी पर-पर पुर्‍याउन चाहन्छौँ ।’

उहाँले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएका प्रतिबद्धतालाई दृढतापूर्वक कार्यान्वयन गरेर व्यवहारिक रुपमा नै दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया