मन्त्रीस्तरीय पाँचौँ आबुधाबी डायलगमा सहभागी हुन श्रम मन्त्री विष्ट यूएई आउने

 असोज २७, २०७६ सोमबार १४:२९:५७ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट  यूएई आउनुहुने भएको छ । कामदार लिने र दिने देशबीच हुने बहुपक्षीय छलफलको मन्त्रीस्तरीय पाँचौं आबुधाबी डायलगमा सहभागी हुन मन्त्री विष्ट मंगलबार यूएई आउने कार्यक्रम छ ।

संवादमा सहभागी हुन मन्त्री विष्टको नेतृत्वमा श्रम मन्त्रालयका सचिव, सह–सचिव र वैदेशिक रोजगार महाशाखाका प्रमुखसमेत यूएई आउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । सवांदमा नेपालबाट मन्त्री नेतृत्वको टोलीसहित यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र श्रम काउन्सिलर भेषबहादुर कार्कीकाे समेत सहभागिता रहनेछ ।

श्रमिक आयात गर्ने मध्यपूर्वका अरबी खाडी देश र कामदार उपलब्ध गराउने एसियाली देशका उच्च सरकारी प्रतिनिधिहरुसहित मन्त्रीस्तरीय छलफलमा कामदार दिने र लिने देशहरुबीच पारदर्शिताका लागि थप समन्वय हुनुपर्ने विषयमा संवाद केन्द्रित हुनेछ ।

संवादमा एसियाली र खाडी देशहरूबीच कामदारको भर्ती र आयातका लागि भएका वर्तमान संयन्त्रबारे समीक्षा गर्दै थप निर्णय लिइने छ । आबुधाबी डायलगमा अवैध कामदार आयात र निर्यातको रोकथाम, कामदारको कल्याण र सुरक्षा उपायबारे मुख्य गन्तव्य देशहरूको आपसी चासोलगायतका विषयमा पनि छलफल हुनेछ ।

छलफलमा कामदार पठाउने देशहरु नेपालसहित अफगानिस्तान, बंगलादेश, भारत, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधिहरुको सहभागिता रहनेछ । कामदार आपूर्ति गर्ने देशहरु यूएईसहित बहराइन, ओमान, कुवेत, कतार, साउदी अरब, यमन र मलेसियाका प्रतिनिधि सहभागी हुनेछन् ।

त्यस्तै, डायलगमा अन्तर्राष्ट्रिय श्रम स‍ंगठन, आप्रवासी कामदारको हकहितमा काम गर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासमेत सहभागी हुँदै छन् ।

श्रमिक पठाउने देशहरुको साझा फोरम कोलम्बो प्रोसेसको नेपाल हाल अध्यक्ष राष्ट्र पनि भएकाले कामदार लिने र दिने देशबीच हुने बहुपक्षीय छलफल, आबुधाबी डायलगमा नेपालको सहभागितालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।   

आबुधाबी डायलगमा सहभागी हुन यूएई आउने मन्त्री विष्टले यहाँ रहेका नेपाली कामदारहरुसँग समेत भेटेर अन्तरक्रिया तथा छलफल गर्न चाहेको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।

सन् २००८ देखि आबुधाबी डायलग सुरु भएको हो । पछिल्लो ४ वर्षदेखि नेपालले पनि डायलगमा सहभागिता जनाउँदै आएको छ । दुबईको हप्तुर होटल एण्ड रिसोर्टमा हुने संवाद बुधबार सुरु भएर बिहीबार सकिने कार्यतालिका छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Khagendr bhandari

    Oct. 17, 2019, 1:14 a.m.

    नेपालका माननीय श्रम मंत्री मंत्री गोकर्ण विष्ट हामी युएईको अबुधाबीस्थित Advanced Environmental servies कम्पनीमा तीन-चार महिनादेखि हामी हामीले काम गरेको पैसा दिएको छैन। घर पठाउन को लागि पनि आनाकानी गरिरहेको छ। विगत लामो समयदेखि नेपाली दुतावास जानकारी गराउँदा पनि पहिलेको त्यही साथीको समस्या समाधान भएको तर फेरि समस्या जस्ताको तस्तै भएको छ। विगत लामो समयदेखि भिसा अवधि सकेपनि नेपाल फर्कन कम्पनीले टिकट नदिएको कारणले यहाँ हामी 50-60 jaana नेपालीहर धेरै समस्यामा हुँदा यसको समाधान गर्नको लागि सम्पुर्ण नेपालीहरु ले साथ दिनु होला। होइन भने नेपाल सरकार ले हाम्रो समस्या को समाधान गर्नको निम्ति युएई नेपाली दुतावास लाई शीघ्र जानकारी हुनु पर्यो

  •  0 Reply

तपाईको प्रतिक्रिया