वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सेलिब्रेटीहरुका बीच सम्मानित

 असोज २७, २०७६ सोमबार २१:३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई लुम्बिनी-कपिलवस्तु विश्व अभियानले सेलिब्रेटीहरुका बीच उहाँकै निवासमा सम्मान गरेको छ ।

राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा उपस्थित सबैलाई सत्यमोहन जोशीले दशैँको टीका लगाएपछि नरेश मानन्धरले उहाँलाई बुद्धको शान्ति सन्देशको प्रतिकको रुपमा शान्ति दीप प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् जोशीले पुरातात्विक प्रमाणका आधारमा बुद्धको जन्म वर्तमान नेपालको लुम्बिनीमा भएकै कारण संयुक्त राष्ट्र संघले नै लुम्बिनीको विकासको लागि गुरु योजना तयार पारेको प्रस्ट पार्नुभयाे । राष्ट्र संघको विश्व सम्पदा सूचीमा लुम्बिनीलाई राखिएको र युनेस्कोकै परियोजना अन्तर्गत नै लुम्बिनीमा अत्याधुनिक वैज्ञानिक प्रविधि प्रयोग गरेर उत्खनन र अनुसन्धान गरिएको बताउनुभयो । 

जाेशीले पुरातात्विक प्रमाणका बाबजुद पनि विभिन्न कारणले गर्दा विश्वका विभिन्न ठाउँमा बुद्धकाे जन्मस्थलका विषयमा भएको समस्या समाधानमा लागि लुम्बिनी-कपिलवस्तु विश्व अभियानको उद्देश्य प्राप्तिमा सफलता मिलोस् भनि शुभकामना व्यक्त गर्नुभयो ।

भक्तपुर सांगीतिक समाजले सत्यमोहन जोशीकै बारेमा तयार पारिएको गीत गाइएको कार्यक्रममा सत्यमोहन जोशीलाई सम्मान गरिएपछि कार्यक्रमको पहिलो सत्र समापन गरिएको थियो ।

कार्यक्रममा दोलखादेखि आउनुभएका विश्व साइकल यात्री एवं सगरमाथा आरोही पुष्कर शाहलाई पनि सम्मान गरिएको थियो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया