बुल्गेरियाको पोस्टमा इंग्ल्याण्डको आधा दर्जन गोल

 असोज २८, २०७६ मंगलबार ९:८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २०२० मा आयोजना हुने युरोकप फुटबलको छनोट खेलमा इंग्ल्याण्डले पाँचाैँ जित हात पारेको छ । समूह ए मा रहेको इंग्ल्याण्डले ६ मध्ये ५ मा जित निकाल्दै १५ अंकसहित शीर्ष स्थानमा छ ।

सोमबार राति भएको खेलमा बुल्गेरियामाथि ६–० गोल अन्तरको फराकिलो जित निकालेको हो । इंग्ल्याण्डको जितमा रस ब्रेक्ली र रहिम स्टर्लिङले २–२ गोल गर्दा मार्कस रासफोर्ड र हेरि केनले १–१ गोल गरेका थिए ।

सातौं मिनेटमा रासफोर्डले ब्रेक्लीको पासमा उत्कृष्ट गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । २० औं मिनेटमा ब्रेक्लीले स्टर्लिङको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको १२ मिनेटपछि ब्रेक्लीले व्यक्तिगत दोस्रो तथा इंग्ल्याण्डका लागि तेस्रो गोल गर्दा हेरि केनको पास सदुपयोग गरेका थिए ।

इन्ज्योरी समयको चौथो मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै इंग्ल्याण्डलाई पहिलो हाफमै ४–० को अग्रता दिलाउन सफल भए । स्टर्लिङको गोलमा केनको सहयोग रहेको थियो । पहिलो हाफमा ४ गोल गरेको इंग्ल्याण्डले बाँकी २ गोल दोस्रो हाफमा गरेको हो । ६९ औं मिनेटमा केनकै पासमा स्टर्लिङले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल थपेका थिए ।

सुरुदेखि दबाबमा रहेको बुल्गेरियाले ८५ औं मिनेटमा छैटौं गोल खान पुग्यो । यस्तै, समूह ए कै अर्को खेलमा कोसोभोले मोन्टिनेग्रोमाथि २–० को जित निकालेको छ । कोसोभोको जितमा २ गोल पहिलो हाफमा सम्भव भएका थिए । अमिर रहमानीले १० औं तथा ३४ औं मिनेटमा भिडाट मोरक्यूले १–१ गोल गरेका थिए ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया