विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद साहलाई जनकपुर ल्याइयो

 असोज २८, २०७६ मंगलबार १७:२८:३४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - जनकपुर विमानस्थलमा तोडफोड गर्ने राजपा नेपालका सांसद प्रमोद कुमार साहलाई पक्राउ गरी जनकपुर ल्याइएको छ ।

सांसद साहलाई काठमाण्डौकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसाे पक्राउ गरी विमानबाटै जनकपुर ल्याएको हो । काठमाण्डौबाट ओखलढुंगा जानका लागि त्रिभुवन विमान स्थल पुगेका सांसद साहलाई नेपाल प्रहरील पक्राउ गरेको थियो ।

बुद्ध एयरको विमानबाट जनकपुर ल्याइएका सांसद साहलाई कडा सुरक्षाबीच जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको हाे । सोमबार काठमाण्डाै जाने क्रममा जनकपुर विमानस्थलमा बुद्ध एयरको विमान डिले भएको र एकजना सिकिस्त बिरामीलाई लामो समय कुराएको भन्दै सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।

विमानमा चढ्न अवरोध गरेपछि बुद्ध एयरका जनकपुर प्रमुख विजय प्रसाद सिंंह र सांसद साहबीच हात हालाहाल समेत भएको थियो । 

नागरिक उड्डयन प्राधिकरण जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा तोडफोड तथा विमान सञ्चालनमा अवरोध पुर्‍याएको आरोपसहित सांसद साहविरुद्ध मंगलबार जाहेरी दर्ता गराएको थियो ।

 

त्यसपछि उनलाई पक्राउ गर्न धनुषा प्रहरीले जिल्ला अदालत धनुषासँग अनुमति मागेको थियो । अदालतले अनुमति दिएलगत्तै महानगरीय प्रहरी कार्यालय काठमाण्डाैकाे सहयाेगमा सांसद साहलाई मंगलबार १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनी पक्राउ गरिएकाे थियाे ।

सांसद साह दोषी ठहरिए तोडफोड अन्तर्गत नष्ट भएको सामानको बिगो भरपाई सहित एकवर्षदेखि ५ वर्षसम्म कैद सजाय र विमान सञ्चालनमा बाधा पुर्या‍एको आरोप ठहर भएमा ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

यता राजपा नेपालका प्रदेश सांसद तथा राजपाका सचेतक प्रमेश्वर साहले आन्दोलनको चेतावनी दिनुभएको छ । सांसद साहलाई फसाउने षड्यन्त्र भए राजपा नेपाल चुप भएर नबस्ने र त्यसविरुद्ध अघि बढ्ने सचेतक साहको भनाइ छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया