नेपाल प्रहरीमा दरबन्दी थप

 असोज २९, २०७६ बुधबार ७:१०:८ | रासस

काठमाण्डौ – नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित दरबन्दी थप भएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार थपिएको दरबन्दी कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेसँगै पदपूर्ति कार्यान्वयनको चरणमा गएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले दरबन्दी थपिएको जानकारी दिँदै बढुवा तथा नयाँ भर्ना प्रक्रियाद्वारा पदपूर्ति गरिने बताउनुभयो । नयाँ पदपूर्तिपछि स्थानीय तहको केन्द्रमा रहने गरी १८६ नयाँ प्रहरी एकाइ थपिने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रहरी एकाइ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ । अहिले नेपाल प्रहरीमा ७५ हजार ९२७ दरबन्दी रहेको छ । 

थपिएको दरबन्दीमा प्राविधिकसहित तीन प्रहरी वरिष्ठ उपरीक्षक, तीन प्रहरी उपरीक्षक, २१ प्रहरी नायब उपरीक्षक, ४७ प्रहरी निरीक्षक, ८६ प्रहरी नायब निरीक्षक, २९७ प्रहरी सहायक निरीक्षक, ६८३ प्रहरी हवल्दार, २ हजार २१६ प्रहरी जवानलगायत छ । यसमा प्राविधिकतर्फ १२९ दरबन्दी थपिएको हो । प्रहरीका अनुसार सरकारी निर्णयअनुसार थपिएको दरबन्दी पदपूर्तिका लागि प्रक्रिया सुरु भइसकेको जनाइएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया