राष्ट्रपति भण्डारी हेलिकोप्टर चढेर शीतल निवासबाट विमानस्थलसम्म

 असोज २९, २०७६ बुधबार ११:२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार जाने क्रममा शीतल निवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा जानुभएको छ । बुधबार बिहान उहाँ शीतल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुग्नुभएको हो । कार्यालय समयमा सडकमार्गबाट विमानस्थल जाँदा सर्वसाधारणलाई सास्ती हुने भन्दै उहाँ हेलिकोप्टरमा चढेर विमानस्थल पुग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले शितल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल गएको यो पहिलोपटक हो । यसअघि राष्ट्रपतिको सवारीको बेला सडकमार्ग बन्द हुने गरेकोमा आलोचना हुँदै आएको थियो ।

म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म्यानमार जानुभएको हो । बुधबार म्यानमार पुगेपछि राष्ट्रपति भण्डारीले म्यानमारका समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्नुहुनेछ । उहाँले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने कार्यक्रम छ । 

उहाँले पिङ ओ लिङमा रहेका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ । उहाँले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्वका ठाउँका पनि भ्रमण गर्ने तयारी छ ।

राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान पनि जाने तयारी छ । जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा पनि राष्ट्रपति भण्डारी उपस्थित हुनुहुनेछ । म्यानमार र जापानको भ्रमण सकेर राष्ट्रपति भण्डारी आउँदो ६ गते स्वदेश फर्कने कार्यक्रम छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया