तिलिचो ताल : ‘यात्रा कठिन तर पुगेपछि संसार जितेको अनुभूति’

 असोज ३०, २०७६ बिहिबार ९:१५:३२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – संसारकै सबैभन्दा बढी उचाइमा रहेको मनाङको तिलिचो ताल पुग्ने पहिलदेखिकै चाहना थियो, सुन्दरबजार नगरपालिका–७, का रामकृष्ण सुनारको । 

तिलिचो पुग्ने सपना साकार पार्न उहाँ गएको साता बिहिबार दुई जना साथीको साथमा तिलिचो तालको यात्रामा निस्कनुभयो । मोटरसाइकलमा मनाङको खाङ्सर पुगी बिहीबार खाङ्सर नै बस्नुभयो । शुक्रबार बिहानै श्रीखर्क (४ हजार ६० मिटर ) हुँदै झण्डै ७ घण्टाको पैदल यात्रापछि तिलिचो बेसक्याम्प (४ हजार १ सय ५० मिटर) पुग्नुभयो ।

बेसक्याम्पसबाट साथीको साथमा उहाँ झण्डै ५ घण्टाको पैदल यात्रापछि तिलिचो ताल पुग्नुभयो । चिसो बतास चलिरहेको, हिमालको काखैमा रहेको संसारकै बढी उचाइमा रहेको हिमताल चिलिचो ताल आँखै अगाडि नियाल्न पाउँदा उहाँलाई ‘संसारै जितेको’ अनुभूति भयो ।

‘बेसक्याम्पसबाट झण्डै ५ घण्टा हिँडेपछि तिलिचो पुग्यौँ । खरखरे भीर पार गर्दै हिँड्नुपर्ने । तिलिचोको यात्रा निकै कठिन छ,’ उहाँले भन्नुभयो, ‘यात्रा कठिन भए पनि तिलिचो पुगेपछि सारा थकान मेटिन्छ । तिलिचो पुग्दा त संसारै जितेको अनुभूति हुन्छ ।’

मनाङको निस्याङ गाउँपालिकामा पर्ने संसारकै अनुपम सौन्दर्यको रुपमा रहेको यस हिमताल सामुद्रिक सतहदेखि चार हजार ९ सय १९ मिटर उचाइमा छ ।

सुनारका अनुसार तिलिचो तालमा बिहान १० बजेदेखि चिसो हावा बहन थाल्छ । तिलिचो तालसम्म पुग्नका लागि आवश्यक तयारीका साथै आवश्यक औषधी र साथीको साथमा जानुपर्ने उहाँ बताउनुहुन्छ । ‘लेक लाग्ने समस्या हुन सक्छ । त्यसैले आवश्यक औषधी लिएर जानुपर्छ,’ उहाँले भन्नुभयो । 

बस्ने ठाउँको समस्या 

उहाँका अनुसार बेसक्याम्पसमा २ वटा होटल छन् । एउटा होटल बन्दै छ । पर्यटकहरु बस्ने पर्याप्त ठाउँ भएमा झनै पर्यटकको आकर्षण बढाउन सकिने उहाँ बताउनुहुन्छ ।

‘बस्ने ठाउँको अलि समस्या छ । बस्नका लागि कोठा पाउन मुश्किल छ । ‘डाइनिङ हल’मा समेत बस्नुपर्ने बाध्यता छ । हलमासमेत बस्ने ठाउँ पाउन सकस हुन्छ,’ उहाँले भन्नुभयो, ‘पर्यटकका लागि पर्याप्त मात्रामा बस्ने ठाउँको व्यवस्था गरेमा पर्यटकको झनै आकर्षण बढाउन सकिन्छ ।’ 

तिलिचोसम्मको यात्रा केही कष्टकर र जोखिमपूर्ण भए पनि तिलिचो पुगेपछि प्राकृतिक सौन्दर्यमा टहलिन पाउँदा यात्राका सारा कष्ट पलभरमै भुल्छन्, यहाँ पुग्ने जो कोही । 

अहिले तिलिचो ताल पुग्ने पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन् । मनाङको साथै तिलिचो तालको सौन्दर्यलाई नजिकैबाट नियाल्न देश तथा विदेशका पर्यटक यहाँसम्म आउन लालयित छन् । 

यो ताल आन्तरिक तथा बाह्य दुवै पर्यटकको रोजाइको गन्तव्य बनेको छ । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा आउने हजारौ पर्यटकहरु पछिल्लो समय तिलिचो तालसम्म पुग्ने गरेका छन् । 

ताल नजिकैबाट देखिने मुसुक्क मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, निलगिरी  हिमश्रृङ्खलाको दृश्यले पर्यटक भुतुक्कै हुन्छन् । 

प्राकृतिक, धार्मिक दृष्टिकोणले महत्वपूर्ण ‘तिलिचो ताल’

प्राकतिक रुपले मात्र नभई धार्मिक दृष्टिकोणले पनि महत्वपुर्ण मानिन्छ, तिलिचो ताल । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती अनुसार हिन्दू धर्मावलम्बीहरु तीर्थ व्रतका लागि पनि तिलिचो तालसम्म पुग्ने गरेका छन् । 

जानकारहरुका अनुसार मुख्यतया असोजदेखि पुस महिनासम्म तिलिचो पुग्ने उचित समय मानिन्छ । फागुनदेखि वैशाखसम्म दोस्रो सिजनको रुपमा लिने गरिएको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया