मनाङले बारम्बार बोलाउँछ, बाटोले झस्काउँछ !

 असार ३२, २०७५ सोमबार १५:४४:५९ | श्यामशितल परियार

लमजुङ– ‘प्रकृतिले फुसर्दमा सिगाँरेको’ हिमाली जिल्ला मनाङ पुग्ने मनभरी धोको थियो, तार्कुघाटकी प्रतिभा रानाभाटको ।  

तनहुँ भानु नगरपालिकाको पुरानो डिही प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्ने उहाँको मनमा मनाङ पुग्ने धोको भए पनि समय नमिल्दा उहाँ मनाङको साइतमा निस्कन सक्नुभएको थिएन । तर मनबाट मनाङ जाने रहर भने हटेको थिएन । गएको बिहीबार उहाँलाई मनाङ जाने साइत जुर्‍याे। 

धेरै सुनेको, पढेको, पत्रपत्रिका, टेलिभिजनमा देखिएको, मनैले खाएको सुन्दर ठाउँ मनाङको साइतमा हिँड्दै गर्दा कत्तिबेला ‘मनाङ पुगूँला र आफ्नै आँखाले मनाङको सौन्दर्यलाई चुमाैँला’ भन्ने चाहले उहाँमा खुशीको सीमा नै थिएन ।  

बिहान साढे ९ बजे उहाँ जिल्ला जनास्वास्थ्य कार्यालय मनाङमा कार्यरत साथी दीपक बम्जन, सुरज अधिकारीसँगै ‘बोलेरो’ गाडी चढेर बेसीशहरबाट उहाँ मनाङको यात्रामा निस्कनुभयो । 

गाडीबाट सजिलैसँग उहाँ बेसीशहरबाट ङादीसम्म पुग्नुभयो । कच्ची, साँघुरा, हिलाम्य बनेको सडकमा गाडीको यात्रा गर्दा घरीघरी डरले उहाँको मुटु काँप्थ्यो । ‘साँघुरा, कच्ची, बर्खाको समय, पानी परेकाले बाटो हिलो भएको थियो । जोखिमपूर्ण बाटो पार गर्दैगर्दा मनमा कताकता डर त हुन्थ्यो । तर मनाङ पुग्ने धोकोले डरलाई पछि धकेल्थ्यो’, उहाँले भन्नुभयो ।

बाटो पार गर्दै उहाँ म्यार्दीखोला पुग्नुभयो । म्यार्दीखोला उर्लिएर आएको थियो, खोला पार गर्नै डर लाग्ने गरी । 

प्रतिभाका अनुसार सवारी आवागमनका लागि खोलामा पक्की पुल छैन । प्रतिभासँगै गाडीमा सवार अन्य यात्रु पनि गाडीबाट ओर्लिए । कच्ची पुलको माध्यमबाट उनीहरुले खोला पार गरे । चालकले जोखिम मोलेरै उर्लिएको खोलामा गाडी हुँइक्याए । गाडीले खोला पार गरेपछि उनीहरु गाडीमै बसे । र यात्रालाई निरन्तरता दिए । ‘म्यार्दी खोलामा पुल निर्माण भइरहेको छ,’ उहाँले भन्नुभयो । 

सानाठूला खोला पार गर्दै उनीहरु तिमाङखोला पुगे । तिमाङखोला पुग्दा साँझ परिसकेको थियो । तिमाङखोलामा पनि भेल उर्लिएर आएको थियो । तिमाङखोलामा भने चालकले गाडी हुँइक्याउँने आँटै  गरेनन् । प्रतिभाले हिँड्ने सुर गर्नुभयो । 

हिँडेरै उहाँ तिमाङगाउँसम्म पुग्नुभयो । उहाँलाई लिनका लागि आफ्नो साथी बाइक लिएर आएका थिए, तिमाङगाउँमै ।  

‘डराउँदै डराउँदै तिमाङखोलासम्म गाडीमै गइयो । साँझ भैसकेको थियो । खोलामा पानीको बहाव बढेको थियो । गाडीबाटै खोला पार गर्न सम्भव भएन । त्यसैले कच्ची पुलबाट खोला पार गरेँ ।  हिँडेरै तिमाङ गाउँसम्म आएँ । साथीको बाइकमा चढी चामे पुगेँ,’ मनाङ जादैँ गर्दा बाटोमा भोगेको भोगाई उहाँले एकै श्वरमा सुनाउनुभयो ।      

चामे पुग्दा घडीले बेलुकीको ८ बजाइसकेको थियो । त्यस दिन घुम्ने कुरै भएन । मनाङ पुगेको भोलिपल्ट शुक्रबार बिहानै उहाँ उपल्लो मनाङ, ढिकुरपोखरी, हुम्डे, टंकी मनाङ, गंगापूर्ण तालसम्म पुग्नुभयो । 

मनाङमा पाइला टेक्दा स्वर्गकै अनुभूति

‘मनाङको सौन्दर्यको त कुरै नगरौँ । यहाँ पाइला टेक्दा स्वर्गकै अनुभूति भयो’, उहाँले भन्नुभयो, ‘झन माथिल्लो मनाङको भारपाङ स्याउबारीले मनै छोयो ।’ 

बारीमा फल्दै गरेका स्याउले उहाँको मन लोभ्याएको हो । मनाङ पुगेर फर्कनुभएकी प्रतिभाले मुस्कुराउँदै भन्नुभयो, ‘मनाङ पुग्ने धोको पूरा भयो । फेरि समय मिलाएर मनाङ जानेछु । मनाङको बाटा सम्झिँदा भने मन झस्किन्छ । तर मनाङको सौन्दर्यले भने बारबार डाकिरहन्छ ।’

पक्की सडक र पुल नहुँदा समस्या

मनाङ आफैमा सुन्दर छ । प्रतिभाको झैँ जीवनमा एकचोटी मनाङ पुग्ने रहर जोकोहीको हुन सक्छ । बाह्य तथा आन्तरिक पर्यटकको रोजाईको पर्यटकीय गन्तव्य पनि हो, मनाङ । तर मनाङसम्म पुग्ने बाटोको अवस्था राम्रो नहुँदा, खोलाहरुमा पक्की पुल नहुँदा मनाङ जान कतिपय डराउँछन् । 

राम्रो सडक र पक्की पुलको अभावमा विश्वमा प्रसिद्धि कमाएको अन्नपूर्ण पदमार्गमा पर्ने हिमाली जिल्ला मनाङ पुग्न जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको कतिपय पर्यटकहरु बताउने गर्दछन् । 

स्थानीय सञ्चारकर्मी नेगम परियारका अनुसार म्यार्दीखोलामा पुल निर्माण भइरहेको छ । बर्खामा पनि सवारी आवागमनका लागि पिसाङस्थित २ वटा खोलामा काठेपुल बनाइएको छ । पक्की पुल निर्माण गर्नुका साथै बाटोको स्तरोन्नति गर्न सके बाह्रै महिना मनाङसम्म आउने पर्यटकको संख्यामा भारी वृद्धि हुन सक्ने नेगमले बताउनुभयो । 

बर्खामा पर्यटकको संख्यामा कमी

परियारका अनुसार बर्खाको समयमा मनाङसम्म पुग्ने पर्यटकको संख्या कम छ । हिउँदमा दैनिक झण्डै एक सय २० सवारी आवतजावत गर्ने मनाङमा बर्खामा मुश्किलले ९-१० वटा सानो जीप मात्रै चल्ने गरेका छन् ।

‘सिजनमा त यहाँ थुप्रै पर्यटक आउँछन् । अहिले बर्खाको समय छ । सवारी पनि त्यति धेरै चल्दैनन् । यहाँ आउने पर्यटकको संख्या अहिले कमै छ,’ उहाँले भन्नुभयो । 

उहाँका अनुसार बर्खाको समय भए पनि तिमाङखोलादेदेखि चामे, पिसाङ, माथिल्लो मनाङ र खाङ्सरमा भने सवारी साधन मज्जाले नै चलेका छन् ।     

अन्तिम अपडेट: चैत २८, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया