पश्चिमी वायुको प्रभावले चिसो बढ्यो, पश्चिमी पहाडी भूभागमा वर्षाको सम्भावना

 कात्तिक १, २०७६ शुक्रबार ८:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा देशका अधिकांश भूभागको मौसममा आंशिक बदली भएको छ । नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन बाहिरिएर वायुमण्डलमा पश्चिमी वायुको प्रभाव परेपछि जाडोयाम सुरु हुने गरेको छ । पश्चिमी वायुको प्रभाव परेसँगै देशैभर तापक्रम घट्दो क्रममा रहेको छ । मौसमविद् विभूति पोखरेलले भन्नुभयो, ‘पश्चिमी वायुको प्रभाव पश्चिमी भूभागमा देखा परेको छ । यसैको प्रभावले पश्चिमी भूभागको साथै मध्य तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदलीका साथै क्षणिक वर्षाको सम्भावना रहेको छ । ठूलो वर्षाको सम्भावना भने छैन ।’

यस वर्ष मनसुन औसतभन्दा १० दिन ढिलो गरी भित्रिएको थियो भने औसतभन्दा १९ दिन ढिलो गरी बाहिरिएको थियो । सामान्यतया नेपालमा मनसुनी अवधि भनेर जुन १० देखि सेप्टेम्बर २३ सम्म बुझ्ने गरिन्छ । तर पछिल्लो समय केही औसत समयभन्दा केही ढिलो गरी मात्र मनसुन बाहिरिन थालेको छ । 

पश्चिमी वायुको प्रभावका कारण शुक्रबार पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहने र केही ठाउँमा सामान्य वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ । यस्तै, शनिबार पनि पश्चिमी पहाडी भूभागको मौसम सामान्य बदलीकै अवस्थामा रहने महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया