अबको सभामुख को ?

 कात्तिक १, २०७६ शुक्रबार ९:११:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नयाँ सभामुख चयनका लागि नेपाल कम्युनिष्ट पार्टीले आन्तरिक तयारी थालेको छ । कार्यकालको बीचमै कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिन परेपछि अहिले सभामुख पद रिक्त छ ।  

संसद सचिवालयमै कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले राजीनामा दिनु परेको थियो । सभामुख पद रिक्त भएपछि अब कसलाई सभामुख बनाउने भन्ने बारेमा नेकपाले आन्तरिक तयारी थालेको हो । 

तत्कालीन समयमा सभामुख र उपसभामुख फरक दलबाट निर्वाचित भएका थिए । महरा तत्कालीन नेकपा माओवादी केन्द्रबाट र तुम्बाहाम्फे तत्कालीन एमालेबाट निर्वाचित हुनु भएको थियो ।

तर एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि भने कांग्रेसले एकै दलबाट दुवै पदमा रहनु संविधानविपरीत हुने भन्दै विरोध गर्दै आएको थियो । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ ।  

महराले राजीनामा दिएपछि भने सभामुख र उपसभामुख अब फरक फरक दलको राख्नै पर्ने बाध्यता उत्पन्न भएको छ । उपसभामुखमा तुम्बाहाम्फेलाई नै यथावतमा राख्ने हो भने सभामुख पद नेकपाले गुमाउनु पर्नेछ । तर नेकपाले तुम्बाहाम्फेलाई राजीनामा गराएर भए पनि सभामुख पद गुमाउन चाहेको छैन । त्यसैले तुम्बाहाम्फेलाई मन्त्री बनाउने र सभामुखमा आफ्नै दलको प्रतिनिधि चयन गर्ने गरी नेकपाले गृहकार्य गरिरहेको छ । 

बुधबार बसेको नेकपाको सचिवालय बैठकमा पनि सभामुख आफ्नै पार्टीले राख्ने र उपसभामुख सत्ता सहयात्री दललाई दिन सक्ने विषयमा छलफल भएको नेकपा सचिवालय स्रोतले जनाएको छ ।  

उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाएर मन्त्री बनाउने र त्यो पद सत्ता सहयात्रीलाई दिन सकिनेबारे छलफल भएको स्रोतको दावी छ ।तर उपसभामुख तुम्बाहाम्फे भने उपसभामुख छाडेर मन्त्री नबन्ने अडानमा हुनुहुन्छ । राष्ट्रिय सभा अध्यक्ष तथा प्रदेश सभाहरुमा पनि पुरुष मात्रै सभामुख रहेकाले अब प्रतिनिधिसभामा महिला सभामुख राख्नु पर्ने र त्यसमा आफ्नो पहिलो दावेदारी रहने तुम्बाहाम्फेले बताउने गर्नु भएको छ ।  

सभामुख पद कसरी नेकपाले जोगाउने भनेर गएको आइतबार उपसभामुख तुम्बाहाम्फेसँग प्रधानमन्त्री केपी शर्मा ओली आफैँले छलफल समेत गर्नुभएको थियो । छलफलमा राजीनामाको बारेमा कुरा नभए पनि सभामुख पद नेकपाले नै कसरी राख्न सक्छ भन्ने विकल्पमा छलफल भएको प्रधानमन्त्री स्रोत बताउँछ ।

मंगलबार दुवै अध्यक्ष र बुधबार सचिवालय बैठकमा पनि उपसभामुखलाई राजीनामा गर्न लगाएरै भए पनि सभामुख पदमा नेकपाकै प्रतिनिधि पठाउने विषयमा छलफल भएको थियो ।  

उपसभामुख तुम्बाहाम्फेलाई मन्त्री बनाउने गरी राजीनामा गर्न लगाउने र सभामुखमा आफ्नै दलबाट पठाउने गरी नेकपाले छलफल अघि बढाएसँगै सभामुखमा कसलाई पठाउने भन्ने बारेमा पनि आन्तरिक छलफल हुन थालेको छ । 

पहिलो संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङलाई नै फेरि सभामुख बनाउने वा अन्य विकल्प खोज्ने भन्ने बारेमा छलफल भइरहेको छ । महरा तत्कालीन माओवादी तर्फबाट सभामुख बनेकाले अहिले एकतापछि पनि माओवादी खेमा तर्फबाटै सभामुख छान्नुपर्छ भन्ने बारेमा पनि तत्कालीन माओवादी खेमाले माग दावी अघि सारेको छ । 

आधा कार्यकालका लागि सभामुखमा जान नेम्वाङले अनिच्छा देखाउनुभएको छ । यद्यपी अहिले पार्टीले कुनै निर्णय नगरेकाले सभामुख उपसभामुख के हुन्छ भन्नेबारे यसै भन्न सकिने अवस्था छैन । उपसभामुख तुम्बाहाम्फेले मन्त्रीमा उपसभामुख पद साटेको देखिने  गरी आफूले राजीनामा नदिने अडान राख्दा अब के गर्ने भन्ने बारेमा नेकपाभित्र अन्योल देखिएको छ ।

उपसभामुखलाई राजीनामा दिन लगाएर पार्टीभित्रको समायोजन कसरी गर्ने भन्ने बारेमा अहिले नै कुनै ठोस निर्णय हुन सकेको छैन । त्यसैले तुम्बाहाम्फेले आफैँले सभामुखको दावी गर्दै आउनुभएको छ ।

उपसभामुखको अनुभव पनि भएको र महिला प्रतिनिधित्व पनि रहने भएकाले सभामुख आफूले पाउनुपर्ने दावी तुम्बाहाम्फेले गर्दै आउनुभएको छ । उपसभामुख पनि पार्टीकै सिफारिसमा भएकाले अहिलेको परिस्थितिमा पार्टीले विचार गरेरै निर्णय लिन्छ भन्नेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभएको छ ।  

तर नेकपाभित्र नयाँ सभामुख नयाँ अनुहारको हुने वा पुरानैलाई बनाउने भन्ने विषयमा चर्चा भने चलेको छ । नयाँ सभामुखमा पूर्व माओवादी खेमाबाट पम्फा भुषाल, अग्नि सापकोटा, देव गुरूङको नाम चर्चामा छ । पूर्व एमाले खेमाबाट भने नेम्वाङको चर्चा छ । 

सभामुख पद रिक्त भएसँगै त्यसमा कांग्रेसले पनि आफ्नो दावी अघि सारेको छ । सभामुख र उपसभामुख एकै पार्टीसम्बद्ध भएको भन्दै विरोध गर्दै आएको प्रतिपक्षी दल कांग्रेसले अब एउटा पद आफूले पाउनु पर्ने माग गरेको छ । 

संविधानतः नै फरक फरक दलको हुनुपर्ने व्यवस्था भएकाले त्यसमा आफूहरुको दावी रहने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । पहिले पनि सभामुखमा आफ्नो पार्टीको दावी रहेकाले अब पनि सभामुख पदका लागि आफ्नो पार्टीले दावी गर्ने उहाँ बताउनुहुन्छ । 

सभामुख चयनका लागि हुने चुनावमा आफ्नो दलले दावी पेश गर्ने शर्माले बताउनुभयो । सभामुख पद रिक्त रहेकाले अहिले सभामुख पदका लागि कांग्रेसले दावी गर्ने तर नेकपाले उपसभामुखलाई पनि राजीनामा गर्न लगाएर नयाँ चयन गर्ने अवस्था बनाए त्यसमा पनि आफूहरुको दावी रहने शर्माले बताउनुभयो ।  

चयन प्रकृया

सभामुख पद चयनका लागि संसद अधिवेशन चल्नु पर्छ । अहिले संसद अधिवेसन अन्त्य भएको छ । गएको असोज २ गते वर्षे अधिवेशन अन्त्य भएको हो । हिउँदे अधिवेशन आह्वान गरेपछि मात्रै चयन प्रकृया अघि बढ्छ । तर त्यसअघि दलहरुले सभामुखमा कसलाई उठाउने भन्नेबारेमा भने छलफलबाट टुंगोमा पुग्ने प्रयासमा छन् ।  

नेकपाले आकांक्षीमध्येबाट एक जनाको नाम टुंग्याउने गरी छलफल र परामर्श अघि बढाएको छ । नेकपाले नाम टुंगो लगाएपछि कांग्रेसले पनि दाबी प्रस्तुत गर्ने गरी पार्टीले तयारी गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउनुहुन्छ ।  

सत्तारुढ दल नेकपासँग सुविधाजनक बहुमत रहेकाले उसले सभामुखमा उठाउने प्रतिनिधि विजयी हुने निश्चित छ । तर सभामुख र उपसभामुख दुवैमा भने अब नेकपाका प्रतिनिधि हुने छैनन् । त्यसका लागि नेकपाले एउटा पद छाड्नै पर्छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया