दुहबी-कटहरी प्रसारण लाइनको काम ४५ दिनभित्र सक्न घिसिङ र माेदी सहमत

 कात्तिक १, २०७६ शुक्रबार १८:१५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – दुहबी-कटहरी ३३ केभी विद्युत् प्रसारण लाइन निर्माणको काममा ४५ दिनभित्र सक्ने सहमति भएको छ । 

मोरङको ग्रामथान गाउँपालिकाको गिदनीय टोलका स्थानीयले झण्डै तीन किलोमिटर तार तान्न नदिएपछि निर्माणमा अवरोध भएको थियो । अवरोध हटाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे लगायतसँग छलफल गर्नुभएको थियो ।  

छलफलमा प्रसारण लाइन निर्माणको अवरोध हटाउन आवश्यक प्राविधिक पक्षको अध्ययन गरी ४५ दिनभित्रमा निर्माण सक्ने निर्णय गरिएको मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।  

‘यो प्रसारण लाइन बन्न नसक्दा मोरङका उद्योग तथा आम उपभोक्ताले गुणस्तरीय र भरपर्दो विद्युत् पाउन सकिरहेका छैनन्, त्यसैले विधिसम्मत् रुपमा समस्या समाधान गरी निर्माण तत्काल सुरु गरौँ,’ उहाँले भन्नुभयो, ‘तारलाई भूमिगत गर्ने या अन्य विकल्प के के हुन्छन्, प्राविधिक विकल्पको तत्काल खोजी गरी ४५ दिनभित्र काम सम्पन्न गरौँ, यसका लागि सम्पूर्ण उपायहरु अपनाइने छ ।’

मुख्यमन्त्री राईले निर्माणमा अवरोध हटेपछि समस्या समाधान गर्न पहल गर्दै यसअघि मोरङ क्षेत्र नम्बर ४ का संघीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गर्नुभएको थियो ।  

शुक्रबार भएको छलफलमा संसद मोदीले यो प्रसारण लाइन निर्माणमा आफूले कहिले पनि अवरोध नगरेको प्रष्ट पार्नुभयो । ‘लाइन निर्माणमा मोदीले पैसा मागेर अवरोध गर्‍याे भन्ने सम्मका गलत आरोप ममाथि लगाइयो, तर मैलै कोहीसँग पैसा मागेको छैन, लाइन निर्माण हुनुपर्छ भन्दै सुरुबाटै निरन्तर सहयोग गरिरहेको व्यक्तिमाथि झुटो आरोप लगाइयो,’ उहाँले भन्नुभयो, ‘यस्ता आरोपमा कुनै सत्यता छैन, लाइन निर्माण गर्न तत्काल सुरु गरौँ, यसमा मेरो पूर्ण सहयोग रहने छ ।’  

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा विद्युत् आपूर्तिलाई सुधार गर्न पहल गरिने बताउनुभयो । प्राधिकरणले कहिले पनि प्रसारण लाइन निर्माणमा संघीय सांसदले पैसा मागेर अवरोध गरेको भनेर नभनेको स्पष्ट पार्नुभयो ।  

ग्रामथाम गाउँपालिका अध्यक्षले पनि प्रसारण लाइन निर्माणमा अवरोध नहुने बताउनुभएको छ । 

प्रसारण लाइनको ग्रामथानको गिदनीय टोलमा तीन किलोमिटर क्षेत्रमा बाहेक सबै ठाउँमा लाइन निर्माण भैसकेको छ । सबस्टेसन पनि निर्माण भैसकेको छ । तीन किलोमिटर तार तानिसकिएपछि प्रसारण लाइन र सबस्टेसनको चार्ज गरी सञ्जालमा ल्याइने छ । 

अहिले कटहरी क्षेत्रमा टंकीसिनिवारी र विराटनगर रानी सबस्टेसनको ११ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति भैरहेको छ । टंकिसिनिवारी सबस्टेसन अब थप लोड धान्न सक्ने अवस्थामा छैन । 

दुहबी–कटहरीको ३३ केभी प्रसारण लाइन सञ्चालनमा आउनासाथ कटहरी-रंगेली करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान हन्छ, विराटनगरमा समेत भोल्टेजको समस्या देखिँदैन । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया