दाेलखामा जिरी स्ट्रीट फूड फेस्टिभल २०७६ सुरु

 कात्तिक १, २०७६ शुक्रबार १९:४२:५६ | उषा तामाङ
unn.prixa.net

दाेलखा - दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीमा जिरी स्ट्रीट फूड फेस्टिभल २०७६ आजबाट सुरु भएको छ । 

‘प्राकृतिक सुन्दरता सगरमाथाको प्रवेशद्वार, सांगीतिक प्रस्तुति स्वादिष्ट खाद्य परिकार’ भन्ने मूल नाराका साथ हुने फेस्टिभलको शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले उद्घाटन गर्नुभयो ।

बिहान हेलिकप्टर मार्फत जिरी आउनुभएलगत्तै मन्त्री भट्टराईले जिरी एयरपोर्टको अवस्थाबारे जानकारी लिनुभयाे । कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री भट्टराईले जिरी एयरपोर्ट सञ्चालनका लागि जनप्रतिनिधि सहित बसेर छलफल गरिने बताउनुभयो । उहाँले पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकार, संघ संस्था, बुद्धिजीवी एकजुट हुन आह्वान गर्नुभयो । 

युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पूर्वराज्यमन्त्री देवी खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, स्थानीय तहका जनप्रतिनिधि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिरी स्ट्रीट फूड फेस्टिभलमा कला संस्कृतिको प्रदर्शनी, चिज, छुर्पी, चिया, आलु, किवी, ट्राउट माछा, शिल्मा, रिल्दुक, ढिँडो, आदि जिरीका मौलिक परिकारको स्वाद लिन पाइने आयाेजकले बताएका छन् । 

जिरी नगरपालिका, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, नेपाल पर्यटन बोर्ड लगायत विभिन्न संघ संस्था, परियोजना सहयोगी निकायहरुको सहकार्य रहने जिरी स्ट्रिट फुड फेस्टिभल कार्तिक ३ गते सम्म चल्नेछ ।

अन्तिम अपडेट: चैत ११, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया