उपल्लो मुस्ताङ भ्रमण गर्ने स्वदेशी/विदेशी पर्यटक बढ्दै, होटल थपिने क्रम पनि बढ्यो

 कात्तिक २, २०७६ शनिबार १८:११:५९ | प्रताप बानियाँ
unn.prixa.net

मुस्ताङ – माटोको शहरका नामले परिचित हिमाल पारीको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । 

छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकासम्मै सडकको पहुँच विस्तार भएपछि पछिल्लो समय उपल्लो मुस्ताङ भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेको हो ।   

नेपालीहरुको मुख्य चाडपर्व सोह्र श्राद्ध, दशैँ, तिहार र बिदा मनाउनका लागि मुस्ताङ भ्रमण गर्न आउने पर्यटकहरुको सङ्ख्या बढेको मुस्ताङका होटल व्यवसायीहरुले बताएका छन् । 

विगत केही वर्षयता मुस्ताङ घुम्नेमा विदेशी पर्यटकहरुको तुलनामा नेपाली पर्यटकहरु धेरै रहेका छन् । अहिले उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर र छोन्हुपमा सञ्चालित होटलहरु स्वदेशी र विदेशी पर्यटकले भरिएका छन् ।   

उपल्लो मुस्ताङमा मात्रै दैनिक झण्डै चार सय जना स्वदेशी र विदेशी पर्यटकहरु पुग्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय लोमान्थाङले जनाएको छ । 

पर्यटकका लागि लोमान्थाङमा ५० लाखदेखि २० करोडसम्म लगानी गरिएका ३० ओटा साना, मझौला र ठूला होटलहरु सञ्चालनमा छन् । ती होटलका दुई सय २८ ओटा कोठामा पाँच सय बेडको क्षमता रहेको छ भने छोसेर तथा छोन्हुपमा समेत थप १२ ओटा होटलहरु छन् । 

उपल्लो मुस्ताङमा एक रातका लागि न्यूनतम एक हजारदेखि १० हजार रुपैयाँसम्म खर्च हुने होटल तथा रेस्टुरेन्टहरु सञ्चालन गरिएको छ ।   

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत रहेको अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा भएसँगै विक्रम संवत २०५० सालबाट अनुमति लिएर मुस्ताङ घुम्न पर्यटकहरु जान थालेका हुन् । चीनको समेत सामरिक महत्व रहेकाले नेपालसहित छिमेकी राष्ट्र भारत र तेस्रो देशकाट बर्सेनि पर्यटकहरु मुस्ताङ पुग्छन् । 

एक्यापका अनुसार गएको वर्ष सन् २०१८ मा उपल्लो मुस्ताङमा मात्रै तीन हजार नौ सय ४६ जना पर्यटकले भ्रमण गरेका थिए । पर्यटक बढ्दै जान थालेपछि उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, छोन्हुप र चराङ क्षेत्रमा होटलहरु थपिने क्रम बढेको छ ।   

उपल्लो मुस्ताङ भ्रमणमा खासगरी फ्रान्स, इटली र अमेरिकाका साथै आन्तरिक पर्यटकहरु पुग्ने गरेको एक्याप लोमान्थाङका निमित्त कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिनुभयो । 

उपल्लो मुस्ताङमा रहेको माटोका घर तथा दरबार, गुफाहरु, कोरला नाका, प्राचीन कला र संस्कृति पर्यटकका लागि मुख्य आकर्षण हुन् । यसका साथै मुस्ताङमा स्याउको राजधानी मार्फा, पर्यटकीय ढुम्बाताल, विश्वमै प्रसिद्ध मुक्तिनाथ मन्दिर, दामोदर कुण्डलगायत विभिन्न गुफाहरु हेर्न पर्यटकहरु मुस्ताङ जाने गरेका छन् ।   

त्यस्तै लोन्ली प्लानेटको सर्वेक्षणअनुसार संसारको उत्कृष्ट तेस्रो गन्तव्य स्थल लोमान्थाङ, वालसिटी राजदरबार, मुस्ताङ-तिब्बत बोर्डर, लोमान्थाङ र छोसेरमा रहेका गर्फू, झोङ, छोडी र थुक्छेङ गुम्बासहित धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकन गरी मनोरञ्जन लिन पर्यटकहरु जाने गरेका छन् । 

विदेशी पर्यटकहरु पदमार्ग भएर तथा पोखरा–जोमसोम हवाई मार्ग, घान्द्रुक–घोरेपानी, म्याग्दीको सदरमुकाम बेनी र मुस्ताङ तथा मनाङ जिल्लाको सीमा क्षेत्र थोरङलापासबाट आउने जाने गर्दछन् । त्यसैगरी पछिल्लोपटक साइकलयात्री पर्यटकहरुको समेत आवागमनमा वृद्धि भएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया