डब्लूसीएल : क्याट क्वीन्स प्लेअफमा, रूविनाकाे दाेस्राे अर्धशतक

 कात्तिक ३, २०७६ आइतबार १३:३६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

वुमन्स च्याम्पियन्स लिग अन्तर्गत क्याट क्वीन्स काठमाण्डाैले तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा क्याट क्वीन्सले ललितपुर फाल्कोन्सलाई आठ विकेटले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय पाँच रन बनायो । उसका चार खेलाडीलेमात्र दोहोरो अंक जोड्न सके । जसमा रोशनी बोहोराले सर्वाधिक २९ रन बनाउँदा कप्तान नेरी थापाले २२ तथा ममता चौधरीले १५ रन बनाइन् । यस्तै गिता गोसाईले १३ रन थपिन् ।

२४ रनमा पहिलो विकेट गुमाएको ललितपुरले ४४ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न नसक्दा ९७ रनमा पाँच विकेट खेर फालेको थियो ।

जवाफमा क्याट क्विन्सले १७ ओभर दुई बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । उसका जितमा रुवीना क्षेत्रीले अर्धशतक बनाइन् । जारी प्रतियोगितामा दोस्रो अर्धशतक बनाएकी रुविनाले ५२ बलमा नौ चौका र एक छक्काको मद्दतले ५९ रन बनाए । यस्तै, रोमा थापाले १८ तथा रश्मी चौलागाईंले ९ रनको योगदान गरिन् ।

यो जितसँगै क्याट क्विन्सले चार खेलमा छ अंकका साथ प्लेअफको यात्रा पक्का गरेको छ भने ललितपुर प्रतियोगिताबाट बाहिरिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया