इन्टरनेट बैंकिङ चलाउने ८३ लाख नाघे,  एकै वर्ष ६ सय एटीएम बुथ थपिए

 कात्तिक ३, २०७६ आइतबार १४:९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा बैंकिङ पहुँच पुगेका नागरिकको संख्या तीव्र रुपमा बढिरहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निकालेको पछिल्लो रिपोर्टअनुसार नेपालमा झण्डै ६१ प्रतिशत नागरिकको पहुँचमा बैकिङ सेवा पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धिसँगै शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोग तीव्र रुपमा बढ्दै गएकोले वित्तीय पहुँच विस्तार हुँदै गएको राष्ट्र बैंकले जनाएको छ ।

२०७६ सालको असोजसम्म ६० दशमलव ९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ । लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवासमेत समावेश गर्ने हो भने नेपालमा वित्तीय पहुँच थप विस्तार भएको अनुमान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्रबैंकका अनुसार २०७६ जेठ मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा स्वदेशी र विदेशी गरी कुल २ करोड ७८ लाख ६७ हजार अर्थात् कुल जनसंख्याको ९४ दशमलव १ प्रतिशत निक्षेप खाता रहेको छ । यी बैंकहरुमा नागरिकले खाता खोल्दा पेश गर्ने तीन पुस्ते विवरणको आधारमा एक व्यक्तिको एकभन्दा बढी निक्षेप खाता र विदेशी नागरिकको निक्षेप खाता हटाउदा झण्डै १ करोड ८० लाख नागरिकको व्यक्तिगत बचत खाता कायम हुन आउने राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

एकै वर्षमा १ लाख ३९ लाख कर्जा खाता र ४३ लाख निक्षेप खाता बढे 

बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै निक्षेप र कर्जा खाताको संख्या पनि बढ्दै गएको छ । २०७६ असार मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको छ । २०७५ असार मसान्तमा यस्तो संख्या १३ लाख १ हजार रहेको थियो ।

त्यसैगरी २०७६ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार पुगेको छ । २०७५ असार मसान्तमा निक्षेप खाताकोे संख्या २ करोड ३५ लाख ४५ हजार रहेको थियो ।

मोबाइल बैंकिङ चलाउनेको संख्या ३ वर्षमा ५ गुणाले बढ्यो 

पछिल्लो समय मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि तीव्र रुपमा बढिरहेको छ ।

२०७३ सालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या १७ लाख ५५ हजार रहेकोमा २०७६ मा यो संख्या ५ गुणाले बढेको छ । अहिले ८३ लाख ४७ हजार जनाले मोबाइल बैंकिङको प्रयोग गर्ने राष्ट्रबैंकले जनाएको छ ।  ३ वर्षको अन्तरालमा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या समेत ५ लाखबाट बढेर ९ लाख पुगेको छ ।

एकै वर्ष ६ सय एटीएम बुथ थपिए, ६८ लाखभन्दा धेरै कार्ड चल्तीमा

बैंक तथा वित्तिय संस्था विस्तार भएसँगै एटीएम बुथ र डेविट तथा क्रेडिट कार्डको संख्या पनि बढेको छ । २०७६ असार मसान्तमा देशैभरी एटीएम बुथको संख्या ३३ सय १६ पुगेको छ । अघिल्लो वर्ष यो संख्या २७ सय ९१ रहेको थियो । 

यस्तै, २०७६ सालको असार मसान्त सम्ममा ६७ लाख ८ हजार डेविट कार्ड वितरण भैसकेका छन् । गएको वर्षसम्म ५५ लाख ४४ हजार डेविट कार्ड जारी भएका थिए । यस्तै क्रेडिट कार्डको प्रयोगमासमेत तीव्रता आएको छ । पोहोरसम्म १ लाख ४ हजार क्रेडिट कार्ड जारी भएकोमा यो वर्षको असारसम्म १२ लाख ३१ हजार कार्ड जारी भएका छन् ।

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया