कुमार पौडेललाई प्रहरीले अनावश्यक बल प्रयोग गरी गोली हानी मारेको हो : आयोग

 कात्तिक ४, २०७६ सोमबार १८:४१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको झडपमा नमारिएको राष्ट्रिय मानव अधिकार आयोगले निष्कर्ष निकालेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको एउटा टोलीले घटनाको स्थलगत अध्ययन गरी कुमार पौडेललाई अनावश्यक बल प्रयोग गरी मारिएको निष्कर्ष निकालेको हो । आयोगले अनुसन्धानबाट प्राप्त प्रतिवेदनउपर छलफल गरी सरकार र विप्लव नेतृत्वको नेकपालाई विभिन्न सिफारिस गरेको छ । 

सम्बन्धित समाचार

आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईद्वारा प्रकाशित प्रेस नोटमा गएको असार ५ गते प्रहरी प्रधान कार्यालय, नक्सालको प्रत्यक्ष निर्देशनमा खटिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयको समन्यवयमा खटिएका प्रहरीले कुमार पौडेललाई नियन्त्रणमा लिइ गोली हानी मारिएको उल्लेख छ ।

आयोगले प्रहरीले आत्मरक्षा र दोहोरो भिडन्त भनि दाबी गरे पनि दोहोरो भिडन्त र आत्मरक्षाका लागि गोली चलाएको कुरा कतैबाट पनि पुष्टि नभएको जनाएको छ । साथै प्रहरीले घटनाको मुुचुल्का उठाउँदा समेत गल्ती गरेको बताउँदै आयोगले घटनाको निष्पक्ष छानबिन नभएको जनाएको छ ।

आयोगले घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ । घटनामा प्रत्यक्ष रुपमा संलग्न तथा कमाण्डरसमेत रहेका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हवल्दारहरु विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायब निरीक्षक सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्का तयार गर्दा गल्ती गरेको भन्दै उनीहरुलाई सचेत गराउन सरकारलाई आयोगले सिफारिस गरेको छ ।

घटनामा ज्यान गुमाएका कुमार पौडेलको बाँच्न पाउने अधिकारको हनन भएको देखिएको भन्दै उनको हकवालालाई राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को प्रावधानअनुरुप तीन लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले सरकारलाई सिफारिस गरेको छ ।

हिंसात्मक गतिविधि रोक्न विप्लवलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण ढंगबाट आफ्ना क्रियाकलाप गर्न आग्रह गरेको छ । हत्या, अपहरण, धम्की, जबर्जस्ती चन्दा, विस्फोटनलगायतका हिंसात्मक गतिविधिलाई तत्काल रोकी प्रतिस्पर्धात्मक राजनीतिमा आउन पनि आयोगले विप्लवलाई आग्रह गरेको छ ।

गएको असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको ज्यान गएको नेपाल प्रहरीले बताएको थियो । घटना घटेको केही दिनपछि गृह मन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि पौडेल प्रहरीसँगको मुठभेडमै मारिएको बताउनु भएको थियो । 

हेर्नुहाेस् आयाेगकाे सिफारिस

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया