इन्टरनेट प्रयोगकर्ताको संख्या झण्डै २ करोड पुग्यो, भ्वाइस सेवाका ग्राहक ४ करोड नाघे

 कात्तिक ४, २०७६ सोमबार २०:३१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या झण्डै २ करोड पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्टअनुसार इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ९८ लाख ४१ हजार ६ सय पुगेको छ । नेपालको जनसंख्या २ करोड ९६ लाखलाई आधार मान्दा कुल जनसंख्याको ६७ दशमलव २३ प्रतिशतले इन्टरनेट सेवा लिइरहेका छन् । तर एउटै व्यक्तिले मोबाइल इन्टरनेट र फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गरिरहेकाले ठ्याक्कै कति जनसंख्याले इन्टरनेट प्रयोग गरिरहेका छन् भनेर पत्ता लगाउन नसकिएको प्राधिकरणले जनाएको छ ।

१ करोड ९८ लाख इन्टरनेट प्रयोगकर्तामध्ये ७९ प्रतिशत प्रयोगकर्ता मोबाइल इन्टरनेटका रहेका छन् । प्राधिकरणका अनुसार १ करोड ६७ लाख १९ हजार ग्राहक मोबाइल सेवाका रहेका छन् ।

मोबाइल इन्टरनेट र फिक्स्ड ब्रोडब्यान्ड गरी नेपाल टेलिकमका ग्राहक ९६ लाख ८१ हजार रहेका छन् । यस्तै एनसेलका इन्टरनेट सेवाका ग्राहक ६८ लाख १३ हजार ४ सय ८३ रहेका छन् ।  यस्तै स्मार्ट टेलिकमका ग्राहक २ लाख २४ हजार  ५ सय ५८  जना रहेका छन् । 

इन्टरनेट सेवा प्रदायक अर्थात आईएसपीएसका ग्राहकको संख्या ३१ लाख २२ हजार रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

फोरजीमा एनसेलको वर्चस्व

२०७६ सालको गएको साउनसम्म चौथो पुस्ताको इन्टरनेट चलाउने प्रयोकर्ताको संख्या ४१ लाख ७१ हजार पुगेको छ । यसमध्ये सबैभन्दा धेरै ग्राहक निजी क्षेत्रको एनसेलका रहेका छन् । ४१ लाख ग्राहकमध्ये ३१ लाख २८ हजार ग्राहक निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलका रहेका छन् ।

यस्तै नेपाल टेलिकमका ग्राहक ८ लाख १८ हजार रहेका छन् भने स्मार्ट टेलिकमका ग्राहकको संख्या २ लाख २४ हजार ५ सय रहेको छ ।

नेपालमा पहिलोपटक फोरजी सेवाको सुरुवात २०७३ सालको पुसमा नेपाल टेलिकमले गरेको थियो । टेलिकमले काठमाण्डौ र पोखराबाट यो सेवा सुरु गरेको थियो । अहिले टेलिकमका फोरजी ग्राहक ८ लाख १८ हजार रहेका छन् । तर टेलिकमले भन्दा ५ महिना पछि मात्रै फोरजी सेवा सुरु गरको एनसेलले ३१ लाख २८ हजार ग्राहक पुर्‍याएको छ ।

सबैभन्दा पहिले फोरजी सेवा सुरु गरेर पनि ग्राहक कम भएको भन्दै टेलिकमको आलोचना हुँदै आएको छ । तर टेलिकमले भने आउँदो माघसम्म ६७ सय टावरमार्फत देशैभरि फोरजी सेवा सुरु हुने र फोरजी सेवामा अग्रस्थानमा आउने दाबी गरेको छ ।

टेलिकमले गएको असोज १५ गतेदेखि देशका ५० भन्दा धेरै स्थानबाट फोरजी एलटीई सेवाको सुरु गरेको छ । उसले आउँदो माघसम्म देशैभरि यो सेवा पु¥याउने जनाएको छ ।

भ्वाइस सेवाका ग्राहक ४ करोड नाघे

भ्वाइस सेवाका ग्राहक ४ करोडभन्दा धेरै पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार भ्वाइस सेवाका ग्राहकको संख्या ४ करोड नाघेको छ । साउनसम्म भ्वाइस सेवाका ग्राहकको संख्या ४ करोड १७ लाख पुगेको छ ।

यसमध्ये नेपाल टेलिकमका ग्राहकको संख्या २ करोड २९ लाख ४० हजार रहेको छ । यस्तै एनसेलका ग्राहकको संख्या १ करोड ६६ लाख ९० हजार  । यस्तै स्मार्ट टेलिकमका ग्राहकको संख्या २० लाख ६८ हजार रहेको छ ।

यसमध्ये मोबाइल सेवाका ग्राहकको संख्या ४ करोड ९ लाख रहेको छ । यस्तै फिक्स्ड लाइनका ग्राहक ७ लाख ९६ हजार ५ सय रहेका छन् । नेपालको जनसंख्या २ करोड ९६ लाखलाई आधार मान्दा नेपालमा कुल जनसंख्याको १ सय ४१ दशमलव २९ प्रतिशत नागरिकमा भ्वाइस सेवा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

तर एउटै व्यक्तिले धेरै कम्पनीका धेरैथरी सेवा लिएको ठ्याक्कै कति व्यक्तिको पहुँचमा भ्वाइस सेवा पुगेको छ भन्न नसकिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया