द्वन्द्व प्रभावितका लागि आएको १४ लाखभन्दा बढी रकम फ्रिज !

 असार ३२, २०७५ सोमबार १९:७:५६ | उषा तामाङ
unn.prixa.net

दोलखा – जिल्ला प्रशासन कार्यालय दोलखाले दश वर्षे सशस्त्र युद्धका क्रममा प्रभावित र उनीहरुका परिवारका लागि आएको १४ लाखभन्दा बढी रकम फ्रिज भएको छ ।

द्वन्द्व प्रभावित र आफन्तका लागि चालु आर्थिक वर्ष ५३ लाख ७५ हजार रुपैयाँ प्राप्त भएकोमा ३९ लाख २५ हजार वितरण हुँदा १४ लाख ५० हजार रुपैयाँ फ्रिज भएको स्थानीय शान्ति समितिको कार्यालयले जनाएको छ । दश वर्षे सशस्त्र युद्धको क्रममा मृत्यु भएका सर्वसाधरण ४ जनाका हकदारका लागि ५ लाखका दरले २० लाख वितरण गरिएको छ । जसमा १ जना मृतकको हकदार एकीन नभएका कारण ५ लाख फिर्ता गएकोे छ । 

यसैगरी नेपाली सेनामा संलग्न ४ जना मृतकका हकदारलाई डेढ लाखका दरले ६ लाख वितरण गरिएको छ । २ जना मृतकको रकम फिर्ता गएको छ । १ जनाको हकदार सम्पर्कमा नआएको र अर्का एक जनाको द्वन्द्वकालसँग सम्बन्धित नभएका कारण ३ लाख फिर्ता गएको हो । त्यसैगरी नेपाल प्रहरीमा संलग्न २ जनाको परिवारलाई डेढ लाखका दरले ३ लाख रुपैयाँ वितरण गरिएको छ । 

विस्थापित भएका ४१ जनालाई २५ हजारका दरले १० लाख २५ हजार रुपैयाँ वितरण गरिएको थियो । कुल ६७ जना विस्थापित भएका व्यक्तिका लागि रकम प्राप्त भएको थियो । २६ जना विस्थापित व्यक्ति सम्पर्कमा नआएका कारण ६ लाख ५० हजार फिर्ता गएको छ । 

जिल्ला प्रशासन कार्यालय दोलखाले स्थानीय शान्ति समितिको सिफारिसमा त्यो रकम प्रदान गरेको स्थानीय शान्ति समिति दोलखाका कार्यालय सचिव राजु लामाले जानकारी दिनुभयो । सशस्त्र द्वन्द्वपश्चात भएको शान्ति सम्झौतादेखि अहिलेसम्म दोलखाका द्वन्द्व पीडितलाई १९ करोड ५६ लाख ३६ हजार ६७ रुपैयाँ वितरण गरिएको छ । सर्वसाधारण मृतक १ सय २३ जनालाई वितरण गर्नुपर्नेमा १ सय २२ मृतकका हकदारले १० लाखका दरले १२ करोड २५ लाख प्राप्त गरेका छन् भने एक जना मृतकको हकदारले ५ लाख रुपैयाँ प्राप्त गर्नुभएको छ । 

वेपत्ता भएका १० जनाका हकदारले १० लाखका दरले १ करोड रुपैयाँ, नेपाली सेनाका २० जना मृतकका हकदारले १० लाखका दरले २ करोड, नेपाल प्रहरीका २७ जना मृतकका हकदारले १० लाखका दरले २ करोड ७० लाख प्राप्त गरेका छन् । 

व्यक्तिगत सम्पत्ति क्षति भएका ६ जनाले ७ लाख ६ हजार ६७ रुपैयाँ, अपहरणमा परेका ४ जनाले प्रतिव्यक्ति २५ हजारका दरले १ लाख रुपैयाँ, द्वन्द्वका क्रममा अंंगभंग–घाइते, अपांग भएकामा प्रतिशतका आधारमा ८३ जनालाई ४३ लाख ६० हजार, द्वन्द्वका क्रममा आमाबुबा गुमाएका ५ जना बालबालिकालाई मासिक ५ हजारका दरले अहिलेसम्म १५ लाख वितरण गरिएको छ ।

द्वन्द्वका क्रममा पूर्णरुपमा घाइते अपांग भएका १० जनालाई जीवन निर्वाह भत्ता मासिक ६ हजार २ सय वितरण गरिँदै आएकामा अहिलेसम्म ३७ लाख २० हजार, मृतकका विधुवा पत्निलाई आर्थिक सहायता ७२ जनालाई २५ हजारका दरले १८ लाख रुपैयाँ, बेपत्ता पारिएका व्यक्तिका श्रीमती ७ जनालाई २५ हजारका दरले १ लाख ७५ हजार, विस्थापित १ सय ५१ जनालाई २५ हजारका दरले ३७ लाख ७५ हजार रुपैयाँ वितरण गरिएको हो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया