सिरियाका विषयमा रुस र टर्कीबीच ‘ऐतिहासिक सम्झौता’

 कात्तिक ६, २०७६ बुधबार ११:५:३३ | एजेन्सी
unn.prixa.net

टर्की र रुसबीच म्याराथन बैठकमा उत्तरी सिरियामा कुर्दविरुद्धको सैन्य कारबाही गर्ने विषयमा सहमति भएको छ । दुवै देशले यसलाई ‘ऐतिहासिक सम्झौता’ भनेको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रचेप तैय्यप अर्दोआनबीच रुसको सोचीमा भएको बैठकका क्रममा यो सम्झौता भएको बीबीसीले उल्लेख गरेको छ ।

टर्की र सिरियाको सीमामा रुस र टर्की दुवै देशका सैनिक रहेका छन् । अमेरिकाले यो इलाकाबाट आफ्ना सैनिक फिर्ता बोलाएको छ । टर्कीले सिरियाका कुर्द विद्रोहीविरुद्ध आक्रमक अभियान चलाइरहेको छ । टर्कीले कुर्दहरुको एक समूहलाई ‘आतंकवादी समूह’ दाबी गर्दै आइरहेको छ ।

अब टर्की र सिरिया मिलेर टर्की र सिरियाको सीमामा संयुक्त गस्ती गर्नेछन् । यसले यो क्षेत्रको बदलिँदो शक्ति सन्तुलनलाई संकेत गरेको छ ।

अमेरिकाले गएको साता कुर्द लडाकु र टर्कीका सेनाबीच युद्ध विराम गराएको थियो । युद्ध विरामको समय सीमा पूरा केही अगाडि रुस र टर्कीबीच नयाँ सम्झौता भएको हो ।

उत्तरी सिरियाको कुर्द बलमा कुर्दिश पीपुल्स प्रोटेक्शन युनिट्स (वाईपीजी) लडाकुको बाहुल्यता छ । यसलाई टर्कीले आफ्नो सीमामा खतराका रुपमा हेर्दै आएको छ । अब सम्झौता अनुसार यस क्षेत्रको सैन्य नियन्त्रण रुस र टर्कीबीच बाँडिएको छ ।

रुसको भूमिका

अमेरिकी सैनिक फिर्ता भएपछि टर्कीका राष्ट्रपति रचेप तैय्यप अर्दोआनले ९ अक्टोबरमा सीमा पार आक्रमणको अभियान सुरु गरेका थिए । यो क्षेत्रमा अमेरिकाले इस्लामिक स्टेट समूहसँग लडिरहेका कुर्द समूहलाई समर्थन गरिरहेको थियो ।

रुस सिरियाको सहयोगी राष्ट्र हो, त्यसैले सिरियाली क्षेत्रमा विदेशी शक्ति हाबी नहोस् भनेर रुसले आफ्ना सैनिक सीमा नजिक तैनाथ गरेको थियो । रुसका सैनिकको तैनाथीका कारण रुस र टर्कीबीच टकरावको आशंका थियो । रुसका राष्ट्रपति पुटिन र टर्कीका राष्ट्रपति अर्दोआन दुवै संभावित टकराव रोक्न चाहन्थे ।

यी दुवै नेताबीच सोचीमा झण्डै ६ घण्टा लामो बैठक भएको थियो । यहीबीचमा दुवै पक्षबीच सम्झौता गर्ने सहमति भएको हो। रुसले टर्कीलाई सैन्य अभियान चलाउन सहमति दिएको छ । यो सहमतिपछि दुवै देशबीच टकरावको अवस्थाको अन्त्य भएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया