बैतडी डोजर प्रकरणः ५ सदस्यीय छानबिन समिति गठन

 कात्तिक ६, २०७६ बुधबार १७:११:१८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीमा सोमबार डोजरले स्थानीयमाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बैतडीले ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंंह नेगीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । 

घटनाको विषयमा बुझ्न छानबिन समिति बुधबार  घटनास्थल (दशरथचन्द नगरपालिका-९, ग्वाल्लेक) पुगेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । समितिले घटनाको बारेमा स्थलगत अध्ययन गरी ४८ घण्टाभित्र प्रतिबेदन बुझाउने उहाँले बताउनुभयो ।

सोमबार भएको घटनाको सर्वत्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलबार छानबिन समिति गठन गरेको बताएको छ । छानबिन समितिमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी निरीक्षक, दशरथचन्द नगरपालिकाका इन्जिनियर, पूर्वाधार विकास कार्यालयका इन्जिनियर र अनुसन्धानको १ जना गरी जम्मा पाँच सदस्य रहेका छन् ।  

ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा स्थानीयहरुबीच विवाद हुँदा झडप भएको थियो । गुठी र अंशबण्डा नमिलेको भन्दै केही समय सडक खन्ने काम रोक्न स्थानीयहरुले आग्रह गरेका थिए । तर गाँउलेहरुले आग्रह गर्दा पनि निर्माण पक्षले भने जबरजस्ती सडक निर्माण गर्न खोजेकोले आक्रोशित स्थानीयले डोजरमा ढुंगामुढा प्रहार गरेका थिए ।

त्यसपछि डोजर चालक किशोर बोहोराले स्थानीयहरुमाथि नै डोजर चलाउँदा डोजर आक्रमणबाट स्थानीय गौरी जोशीलगायत केही स्थानीयहरु घाइते भएका थिए ।

घाइतेहरुमध्ये बढी चोट लागेकी गौरी जोशीको कोहलपुरमा उपचारपछि डिस्चार्ज भइसकेको र डोजर चालकविरुद्ध भने ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएर अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया