राष्ट्रिय गौरवका योजना तोकिएको समयअघि नै सम्पन्न गर्न एक्सन रुमबाटै प्रधानमन्त्रीको कडा निर्देशन

 कात्तिक ६, २०७६ बुधबार १७:२५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समयअघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सचेत गराउनु भएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको काम गौरव गर्न लायक गरी सम्पन्न गर्न पनि तोकिएको समयअघि नै सम्पन्न गर्नुपर्नेतर्फ सम्बन्धित मन्त्री, विभाग र आयोजना प्रमुखहरुलाई कडा निर्देशन दिनु भएको हो ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट ६ वटा राष्ट्रिय गौरवको आयोजनाहरुको कामको प्रगति विवरण लिँदै त्यसको काममा तीव्रता दिन पनि प्रधानमन्त्री ओलीले मातहतका आयोजना प्रमुखहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको कामलाई तोकिएको समयअघि नै सम्पन्न गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनु भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, सिक्टा सिँचाइ आयोजना र भेरी–डाइभर्सन सिँचाइ आयोजनासहित ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको कामको प्रगति विवरणबारे जानकारी लिनु भएको थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पुन, अर्थ मन्त्री डा. युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराई तथा सम्बन्धित मन्त्रालयका सचिवहरु सहभागी रहेका थिए । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया