यूएईमा दूतावासको प्रतिनिधि भन्दै ठगी गर्ने बिचौलिया सक्रिय, सचेत रहन दूतावासको आग्रह

 कात्तिक ६, २०७६ बुधबार १७:३४:२९ | उज्यालो सहकर्मी

यूएई – यूएईमा दूतावासको प्रतिनिधि हुँ भन्दै बिचौलियाले ठग्ने गरेको पाइएको छ । यस्ता बिचौलियाबाट बच्न नेपाली दूतावासले आग्रह गरेको छ ।

आफूलाई दूतावासको प्रतिनिधि बताएर सेवाग्राहीको काम गरिदिने भन्दै मनपरी शुल्क असुल्ने गरेको सूचना पाएको भन्दै दूतावासले सचेत रहन भनेको हो ।

‘दूतावासका तर्फबाट काम गर्ने प्रतिनिधि हुँ भन्दै सेवा प्राप्त गर्न सहजीकरण गरिदिने गलत आश्वासन दिएर दूतावासबाट प्रदान गरिने विभिन्न सेवाका लागि सरकारले तोकेको भन्दा बढी अशुल्ने गरेको बुझिएको छ,’ दूतावासले मंगलबार निकालेको सूचनामा उल्लेख छ ।

दूतावासले कुनै व्यक्ति वा संस्थालाई प्रतिनिधि नतोकेको पनि प्रष्ट पारेको छ । दूतावास तथा राज्यलाई भ्रममा पारेर अतिरिक्त शुल्क अशुल्नेहरु भेटिएमा नेपाल र यूएईको कानुन अनुसार दोहोरो कारबाही गरिने पनि दूतावासले जनाएको छ ।

बिचौलिया सक्रिय भएको भन्ने गुनासो विभिन्न ठाउँ तथा फोरमहरुमा उठ्ने गरेको तर लिखित निवेदन अहिलेसम्म दूतावासमा नपरेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो ।

‘यूएईमा कोही पनि नेपाली दूतावासका नाममा ठगीमा पर्नु राज्यको इज्जतमाथि दाग लाग्नु हो, त्यसैले सचेत गराउन विज्ञप्ती जारी गरेका हौं,’ राजदूत ढकालले भन्नुभयो ।

दूतावासले कसैको भ्रम वा आश्वासनमा नपर्न आग्रह गर्दै कसैले यस्तो कार्य गर्न खोजेमा तुरुन्त जानकारी गराउन पनि भनेको छ । छिट्टै सम्पर्क व्यक्ति तोकेर हटलाइन सेवा सुरु गर्ने पनि दूतावासले जनाएको छ ।

कुनै समस्या परेमा दूतावासका कर्मचारी विकास अर्याललाई ०५०७०९३३२६ नम्बरमा सम्पर्क गर्न दूतावासको आग्रह छ । यस्तै दूतावासको सेवा प्रवाहमा ढिलासुस्ती वा अरु कुनै गुनासो भएमा दूतावासका द्वितिय सचिव तथा सूचना अधिकारी भुवन ओझालाई गुनासो सुन्ने अधिकारी तोकिएको पनि सूचनामा उल्लेख छ ।

दूतावासले डिजिटल टोकन प्रणालीमार्फत छिटो, छरितो सेवा सुरु गरेको भन्दै आवश्यक थप सुधारका प्रयास गरिरहेको जनाएको छ । सूचनामा अत्यावश्यक काम तथा मृतकको शव नेपाल पठाउन आवश्यक पर्ने कागजात बिदाको दिनमा पनि उपलब्ध गराउने गरिएको समेत उल्लेख छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया