नेपाली वस्तुमा लगाएको अतिरिक्त शुल्क हटाउन बंगलादेश सकारात्मक, निर्यात सहज हुने अपेक्षा

 कात्तिक ६, २०७६ बुधबार १९:२१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बंगलादेशमा नेपाली वस्तुमा लगाइँदै आएको अतिरिक्त शुल्क हटाउन नेपाली पक्षले माग गरेको छ । 

मंगलबार र बुधबार काठमाण्डौमा भएको नेपाल र बंगलादेशको चौथौ प्राविधिक (व्यापार) बैठकमा नेपालले बंगलादेशसँग अतिरिक्त शुल्क हटाउन माग गरेको हो । नेपालले बंगलादेशमा निर्वाध रुपमा नेपाली धागो निर्यातको व्यवस्था मिलाइदिन पनि आग्रह गरेको छ । 

बंगलादेशले ठूलो अलैँची, अदुवा, अम्रिसो लगायतका कृषिजन्य र औद्योगिक वस्तुमा भन्सारका अतिरिक्त थप शुल्क लगाउँदै आएको छ । बैठकमा नेपालले यस्ता शुल्क हटाउन माग गरेको बैठकको नेतृत्व गर्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।

बंगलादेशले अतिरिक्त शुल्क लगाउँदा नेपाली वस्तुले बंगलादेशको बजारसँग प्रतिस्पर्धा गर्न नसकेकाले नेपाली वस्तु निर्यात हुन सकेका छैनन् । 

जवाफमा बंगलादेशी टोलीले यी विषयलाई सकारात्मक रुपमा लिँदै समस्या समाधानको लागि पहल गर्ने वचन दिएको सहसचिव ढकालले जानकारी दिनुभयो । यस्तै नेपाली पक्षले नेपाली विद्यार्थीले बंगलादेशको सहज भिसा नपाएको विषयमा पनि बंगलादेशको ध्यानाकर्षण भएको जनाएको छ । 

यस्तै सडक, रेल, जल मार्ग र हवाइ मार्गमार्फत व्यापार बढाउन दुई देश सकारात्मक भएका छन् । यसका लागि दुई देशका चार ओटा निकायबीच सहकार्यको लागि समझदारी पनि भएको छ । 

नेपालको कृषि विभाग र बंगलादेशको कृषि प्रसार विभाग, नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशको सम्बन्धित विभाग, नेपालको साल्ट ट्रेडिङ र बंगलादेशको ट्रेडिङ कर्पोेरेशन अफ बंगलादेश तथा नेपालको राष्ट्रिय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र बंगलादेशको ट्रेडिङ कर्पोरेशन अफ बंगलादेशबीच समझादारीपत्रमा हस्ताक्षर भएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया