भारतीय नागरिक हुँ भन्दै सपथ खाएको छैन : सांसद कंडेल

 कात्तिक ६, २०७६ बुधबार १९:२३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसका सांसद तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलले समाचारहरुमा आएजस्तो भारतीय नागरिकता नभएको बताउनु भएको छ । 

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन सांसद कंडेलले गर्दै भारतीय नागरिकता भएको भनी आएको समाचारको खण्डन गर्नु भएको हो । सांसद कंडेले आफू भारतको कुनै स्थानीय चुनाव वा आम चुनावको मतदाता पनि नरहेको स्पष्ट पार्नु भएको छ । 

भारतीय सञ्चार माध्यमले सांसद कंडेल र उहाँको परिवारका केही सदस्य भारतीय नागरिक रहेको समाचार प्रकाशित गरेपछि नेपाली सञ्चार माध्यममा पनि ती समाचार प्रकाशित भएका थिए ।

उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको ठूठीबारीमा रहेको राधा कुमारी इन्टर कलेजेको आर्य विद्या प्रसार समितिको प्रबन्धकको चुनावमा उम्मेदवार हुने क्रममा सांसद कंडेल आफू भारतीय नागरिक हुँ भन्दै प्रमाण जुटाएको भन्दै समाचार प्रकाशित भएको थियो । साथै प्रबन्धकको सपथ खाँदा आफू गोरखपुरकै हो भन्ने आशय दिने सपथ खाएको भन्दै समाचार प्रकाशित भएको थियो ।

तर सांसद कंडेलले आफू सानैदेखि भारतको गोरखपुरमा पढेको र अहिले गोरखपुर जाँदा पनि साथी योगेश वाजपेयीको ३३–कसाया रोड, बेतिहातामा बस्ने गरेको बस्ने गरेको स्पष्ट पार्नु भएको छ । उहाँले भन्नुभएको छ, ‘सपथको क्रममा मैले दिएको ठेगाना सही छ भनी पत्राचारका लागि ठेगानाको रुपमा (केयर अफ्) रुपमा उल्लेख गरिएको हो । त्यस सपथमा म भारतीय हुँ भनी कुनै शब्द छैन । मात्र ठेगानाको हकमा सही भनी सपथ लिइएको छ ।’

त्यस्तै सांसद कंडेलले आफूले बीएसम्मको अध्ययन भारतमै गरेको र त्यही शैक्षिक प्रमाणपत्रका आधारमा सवारी चालक अनुमति पत्र लिएको बताउनु भएको छ । 

त्यस्तै विद्यालयको चुनाव हुँदा निर्वाचन समिति (सहायक रजिस्ट्रार फर्म्स सोसाइटिज एवं चिट्स गोरखपुर मण्डल, गोरखपुर) ले प्रकाशन गरेको मतदाता नामावलीमा आफ्नो ठेगाना महेशपुर, नवलपरासी लेखिएको पनि सांसद कंडेलले जानकारी दिनु भएको छ ।

साथै विद्यालयको चुनावमा विपक्षी रहेका राजेश सिंहले नेपाली हो भन्दै आफूविरुद्ध इलाहाबाद उच्च अदालतमा मुद्दा दायर गरेको सांसद कंडेलले बताउनु भएको छ । सांसद कंडेल भन्नुहुन्छ, ‘त्यस मुद्दामा नेपालको सांसद हुँ र पूर्व राज्य मन्त्री हुँ भनी अदालतमा प्रतिउत्तर दिएको प्रमाण छ ।’ त्यस्तै सन् १९५० मैत्री सम्झौताका आधारमा पनि नेपालीलाई पनि भारतमा सामाजिक संस्था चलाउने अधिकार भएको उहाँले बताउनु भएको छ । 

भारतमा रहेको राधा कुमारी इन्टर कलेज सन् १९५२ मा आफ्नी हजुरआमा राधादेवी कण्डेलले स्थापना गरेको बताउँदै सांसद कंडेलले  स्थापनाका कालदेखि नै कलेजको संरक्षकमा हजुरआमा, बुवा र अहिले आफूले निरन्तरता दिँदै आएको बताउनु भएको छ । 

सांसद क‌ंडेलकाे दाेहाेराे नागरिकता प्रकरणमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे निर्देशनमा नेपालको प्रहरी केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) ले अनुसन्धान गरिरहेकाे छ ।

हेर्नुहाेस् सांसद कंडलले दिएकाे स्पष्टाेक्ति

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया