असारमै खर्च भयो १ खर्ब, एकैदिन २७ अर्ब खर्च गर्दा पनि विकास खर्च ७९ प्रतिशत मात्रै

 असार ३२, २०७५ सोमबार २०:४३:५६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – एक दिनमै २७ अर्ब रुपैयाँसम्म खर्च गर्दा पनि चालु आर्थिक वर्षको विकास खर्च जम्मा ७९ प्रतिशतको हाराहारीमा मात्रै पुगेको छ ।

आर्थिक वर्षको अन्तिम दिनको साँझसम्म विकास खर्च ७८ दशमलव ८३ प्रतिशत मात्रै रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सरकारले यो आर्थिक वर्षमा ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ विकास खर्चको लागि  छुट्याएको थियो । तर सोमबार साँझसम्म ७८ दशमलव ८३ प्रतिशत अर्थात २ खर्ब ६४ अर्ब,२१ करोड रुपैयाँ खर्च भएको छ ।

एकै दिन २७ अर्बको चेक !

विगतका वर्षमा जस्तै यो वर्ष पनि असारको हिलोमा विकास गर्ने क्रम रोकिएन । असार लागेपछि मात्रै ३० दशमलब ५१ प्रतिशत पूँजीगत अर्थात विकास खर्च भएको छ । ३ खर्ब ३५ अर्ब १७ करोडमध्ये असारमा मात्रै १ खर्ब २ अर्ब २६ करोड रुपैयाँभन्दा धेरै खर्च भएको छ ।

यो वर्ष सबैभन्दा धेरै आर्थिक वर्ष सकिन एक दिनअघि आइतबार एकैदिन २७ अर्ब रुपैयाँको चेक काटिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष सकिने दिन सोमबार ९ अर्ब ६ करोड रुपैयाँ निकासा भएको छ । निकासा भएको केही रकम पहिलेको भुक्तानीका रुपमा गए पनि धेरैजसो रकम खुद्रे योजना र रकमान्तरका रुपमा खर्च भएको छ । 

चालु र वित्तीय व्यवस्थातर्फको खर्च सन्तोषजनक

चालु आर्थिक वर्षको अन्तिम दिन साँझसम्मको तथ्याङ्खअनुसार चालु खर्च ८६ दशमलब ६२ प्रतिशत पुगेको छ । सरकारले यो आर्थिक वर्षको लागि ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार रुपैयाँ चालु खर्चको लागि छुट्याएकोमा जम्मा ८६ दशमलब ६२ प्रतिशत अर्थात ६ खर्ब ९६ अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ ।

यस्तै यो आर्थिक वर्षको लागि सरकारले वित्तीय व्यवस्थातर्फ १ खर्ब ४० अर्ब, २८ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेकोमा १ खर्ब ९ अर्व ६४ करोड अर्थात ७७ दशमलव ९० प्रतिशत मात्रै खर्च भएको छ ।

राजश्व संकलन पनि लक्ष्य नजिकै 

सरकारले यो आर्थिक वर्षमा राजश्वको लक्ष्य ७ खर्ब ३० अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको थियो । तर सोमबार साँझसम्म ७ खर्ब २२ अर्ब प्रतिशत राजश्व उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । लक्ष्यभन्दा ८ अर्ब कम राजश्व उठेको छ ।

राति १२ बजेसम्म पनि कारोबार हुने र कार्यालयको वेबसाइटमा रकम चढाउने काम चल्ने हुँदा यो तथ्याङ्खमा थोरै तलमाथि पर्न सक्ने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया