गरिमा जातको धान नपसाएपछि बर्दियाका किसान मर्कामा

 कात्तिक ७, २०७६ बिहिबार १७:४७:१५ | भावुक योगी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बर्दिया - बर्दियाको राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिकालगायतका अधिकाँश ठाउँमा गरिमा नामकाे धान पाक्ने बेलामा पनि नपसाएपछि कृषकहरु मर्कामा परेका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा गरिमा नामकाे धान पाक्ने बेलामा पनि नपसाएपछि कृषकका खेतहरुमै पुगेर प्रारम्भिक लगत संकलनको काम सुरु भएको छ । धान काटेर भित्र्याउने बेला पनि धान नपसाएपछि धेरै किसान अहिले समस्यामा परेका छन् ।

ठाकुरबाबा नगरपालिकामा झण्डै ६० बिगाहा जग्गामा गरिमा जातको धान लगाइएको थियो । ६० बिगाहामा लगाइएको धान नपसाएपछि किसान मर्कामा परेका हुन् । गरिमा नामकाे धानको बीउ भारतबाट आयातित हाइब्रिड जातको धानको बीउ हो । २०७२ सालमा नेपाल सरकारले यो धानलाई पञ्जीकरण गरेको थियो । विगतका वर्षहरुमा यो धान राम्रो उत्पादन हुँदै आएको बताइन्छ ।

धान खेतमा अहिले फौजी किराको समेत प्रकोप देखिएको छ । पछिल्लो समय यो किराको प्रकोप अत्यधिक मात्रामा देखिएको छ ।

ढिला पाक्ने धानमा यो किराले क्षति पुर्‍याइरहेको पाइएको छ । यो किरा दिउँसोमा नदेखिने र रातमा क्षति पुर्‍याउने गरेको पाइएको छ । यस्तै यो किराको प्रकोपबाट बच्न कृषकहरुले धानको दाना अलिअलि पहेँलो भएपछि काटिहाल्नु पर्ने कृषि ज्ञान केन्द्र बाँकेले अनुरोध गरेको जनाइएको छ ।

याे वर्ष गरिमा जातको धान नपसाएकाे साथै फौजी किराको समेत प्रकोप फैलिएपछि अघिल्लाे वर्षभन्दा उत्पादन घट्ने ठाकुरबाबा नगरपालिका कृषि शाखाका प्रमुख धुब्रराज बमले बताउनुभयो ।

यस्तै देशकै धान सुपरजोन क्षेत्र राजापुरमा १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । जसमा बर्सेनि ६३ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको बताइएको छ । यस वर्ष धान नफलेपछि २ दशमलव ०३ प्रतिशत धान उत्पादकत्व घट्ने अनुमान जोन कार्यालयको छ । भित्र्याउने बेलामा धान नपसाएपछि किसानसँगै सुपरजोन क्षेत्रमा समेत चुनौती थपिएको छ ।

बर्दिया सहित देशभरका अन्य क्षेत्रमा पनि गरिमा जातकाे धानको अवस्था उस्तै छ । जसका कारण यस वर्ष धान उत्पादन घट्ने निश्चित छ । प्राकृतिक रुपमा गवारो किराको प्रकोप झेलिरहेका किसानहरु बीउ व्यापारीबाट ठगिएपछि दोहोरो मर्कामा परेका छन् । धान काट्ने बेलासम्म पनि नफलेपछि किसान समस्यामा परेको राजापुरका सहायक बडघर दिपक चौधरीले बताउनुभयो ।

राजापुरमा लगाइएको धानमा समस्या देखिएपछि प्रदेश नम्बर ५ कृषिमन्त्री आरती पौडेल, बर्दियाका प्रदेश सांसद, कृषि वैज्ञानिक लगायत सरोकारवालाको टोलीले धान लगाइएको क्षेत्रमा अवलोकन तथा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो ।

गरिमा जातको धान नपसाएको पाइएकोले पीडितहरुले उजुरी दिएमा सप्लायर्सलाई कारबाही प्रकृया अघि बढाउने र प्रदेश सरकारबाट किसानहरुलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने मन्त्रीले प्रतिबद्धता जनाउनुभएको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया