दिल्लीको वायु प्रदूषण झन् बढ्दै

 कात्तिक ९, २०७६ शनिबार ९:३९:२८ | एजेन्सी
unn.prixa.net

भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर थप खस्केको पाइएको छ ।

दीपावलीको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको तथ्याङ्कमा वायुको गुणस्तरको अवस्था खराब देखिएको हो । पञ्जाब र हरियाणालगायतका छिमेकी राज्यमा नियमित रूपमा बाल्ने गरिएको घाँस–पराल कारण नयाँ दिल्लीमा वायुको गुणस्तर खस्किएको विज्ञले बताएका छन् ।

वायु प्रदूषण गराउने बस्तु बाल्न निषेध गरिए पनि त्यो कार्यान्वयन नहुँदा समस्या भएको हो । हरियाणा र पञ्जाबका किसानले मकै, गहुँ र धान जस्ता अन्नबाली भित्र्याएपछि त्यसको डाँठ, नल र पराल खेतमै बाल्ने गरेका छन् ।

खस्किएको वायुको गुणस्तर र तापक्रम वृद्धिको बढी असर बालबालिका र बुढाबुढीमा पर्ने गरेको भन्दै वातावरणविद्हरुले चिन्ता व्यक्त गरेका छन् । स्थानीय समयअनुसार बिहान साढे ८ बजे नयाँ दिल्लीको वायुको गुणस्तरको सूचक एअर क्वालिटी इन्डेक्स(एक्यूआई) ३ सय २६ देखिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

विज्ञका अनुसार वायुमा एक्यूआई शून्यदेखि ५० सम्म देखिँदा वायुको अवस्था राम्रो मान्न सकिन्छ भने ५१ देखि १०० सम्म एक्यूआई देखिँदा सन्तोषजनक मानिन्छ । यस्तै एक्यूआईको मात्रा १०१ देखि २०० सम्म देखियो भने सतर्क हुनुपर्ने, २०१ देखि ३०० सम्म देखियो भने कमजोर अवस्था मानिने, ३०१ देखि ४०० सम्म देखियो भने अति खराब र ४०१ देखि ५०० सम्म देखियो भने संकटपूर्ण अवस्था मानिने विज्ञको भनाइ छ ।

दिल्लीमा बढ्दो वायु प्रदूषणलाई मध्यनजर गर्दै यस पटक दीपावलीका अवसरमा पटाका पड्काउन निषेध गरिएको छ । दिल्ली सरकारले यस पटक नयाँ दिल्लीको केन्द्रमा रहेको कन्नट भव्य लेजर लाइट राख्ने भएको छ । त्यस्तै दिल्ली सरकारले प्रदूषण कम गर्न आउँदो नोभेम्बर ४ तारिखदेखि दिल्लीमा जोर बिजोर प्रणालीमा सवारी साधन चलाउने भएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया