चितुवाको छालासहित रुकुमबाट दुई जना पक्राउ

 कात्तिक ९, २०७६ शनिबार १५:१८:७ | राजु लामिछाने
unn.prixa.net

रुकुम - रुकुम पश्चिममा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

मुसीकोट नगरपालिका-७, वैरिदहबाट चितुवाको छालासहित २ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का अर्जुन बुढा भनिने छायाँ विक र दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ का १९ वर्षीय गणेश नेपाली रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी (सुमित खड्का)ले जानकारी दिनुभयो । 

रुकुम पूर्वबाट रुकुम पश्चिम हुँदै दाङ, नेपालगञ्जतर्फ वन्यजन्तुको छाला ओसारपसार भैरहेको भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक कबिराज रोकायको कमाण्डमा खटिएको विशेष टोलीले शुक्रबार बेलुकी साढे ७ बजे संरक्षित वन्यजन्तु चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको डीएसपी खड्काले बताउनुभयो।

शंकास्पद अवस्थामा आईरहेको अवस्थामा रोक्न खोज्दा भाग्न खोजेपछि नियन्त्रणमा लिई खानतलासि गर्दा विक र नेपालीको साथबाट चितुवाको छाला भेटिएको प्रहरीको भनाई छ । 

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयको जिम्मा लगाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । यसअघि पनि रुकुम पश्चिमलाई ट्रान्जिट बनाएर वन्यजन्तुको छाला ओसारपसार गर्ने क्रम बढेपछि विशेष निगरानी बढाइएको र त्यसै क्रममा दुई जनालाई पक्राउ गर्न सफल भएको डीएसपी खड्काको भनाइ छ ।

उहाँका अनुसार यसअघि जिल्लामा ३ वटा रेडपाण्डा र एउटा बाघको छालासहित केही व्यक्तिहरु पक्राउ परेका थिए ।

अन्तिम अपडेट: चैत २९, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया