तिहार लागेसँगै म्याग्दीका महिला उद्यमीलाई झिनिया बनाउने चटाराे (फोटो फिचर)

 कात्तिक १०, २०७६ आइतबार १४:७:५१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमाली जिल्ला म्याग्दीका महिला उद्यमीहरुलाई तिहारका लागि झिनिया बनाउन भ्याइनभ्याइ भएको छ । तिहार पर्व सुरु भएलगत्तै उनीहरुलाई झिनिया बनाउने व्यस्तता बढेको हो ।    

बेनी नगरपालिका–८, हस्पिटलचोककी महिला उद्यमी भुलकुमारी रोका यतिबेला झिनिया बनाउने, सुकाउने र बिक्री गर्ने काममा व्यस्त हनुहुन्छ । २०६० सालबाट झिनिया बनाउने काम सुरु गर्नुभएकी उहाँले पछि विस्तारै व्यावसायिक रुपमा झिनिया बनाउन थाल्नुभयो । सुरुवातको समयमा सामूहिक रुपमा पाँच जनाले झिनिया बनाएकोमा अहिले रोकासँगै दुई जनाले झिनिया बनाइरहेका छन् । 

सुरुको चरणमा पाँचहजार रुपैयाँको मेसिन खरिद गरेर झिनिया बनाउन थाल्नुभएकी महिला उद्यमी रोकाले अहिले आएर ७० हजारमा बिजुलीबाट चल्ने आधुनिक मेसिन जडान गर्नुभएको छ । यसपटक तिहार पर्व नजिकिएसँगै झिनिया बनाउन सुरु गर्नुभएकी उहाँले हरेक वर्ष दशैँ, तिहार तथा अन्य समयमा अर्डर अनुसारका झिनिया बनाउने गरेको जानकारी दिनुभयो ।

उहाँले यसवर्ष तिहारमा मात्रै १० बोरा चामल प्रति बाेरा एकहजार चारसय रुपैयाँका दरले खरिद गरेर झिनिया बनाएको बताउनुभयो । एक बोरा चामलबाट चारहजार भन्दाबढी रुपैयाँको झिनिया उत्पादन हुने गरेको अनुभव सुनाउनुभयो । उहाँले गतवर्ष २० बोरा चामलको झिनियाँ बनाउनुभएको थियो । 

महिला उद्यमी रोका जस्तै रघुगंगा गाउँपालिका–५, झीँ गाउँका ४ जना महिलासहित मंगला–१, हिदीको हुमादेवी फगामीको समूह पनि तिहारका लागि झिनिया बनाउने काममा निकै व्यस्त छ । उनीहरुले दैनिक रुपमा झिनिया बनाउँदै आइरहेका छन् । १ दर्जन झिनियालाई एकसय ६० रुपैयाँका दरले बिक्री गर्ने गरेको महिला उद्यमी गौरा पाईजाले अनुभव सुनाउनुभयो ।

रोका र पाईजा जस्तै सदरमुकाम बेनीबजारदेखि जिल्लाको ग्रामीण भेगसम्मका महिलाहरु तिहार आएसँगै झिनिया र सेलरोटी बनाउने तयारीमा जुटेका छन् । नेपालीहरुको महान् पर्व दशैँमा प्रायः मासु खाने प्रचलन रहेकोमा तिहारका लागि भने झिनिया र सेलरोटी लगायतका परिकारहरुको प्रयोग गरिन्छ । दशैँ तिहारमा अन्य परिकारसँगै झिनियालाई पनि मानिसहरुले रुचाउने गरेका छन् । निकै मेहेनतका साथ बनाइने झिनिया स्वादिष्ट हुन्छ ।

हरेक वर्ष बडादशैँ, तिहार पर्व, ब्रतबन्ध, विवाह, पूजाआजा र अन्य समयमा झिनिया बिक्री गरेरै महिलाहरुले मनग्गे आम्दानी गर्दै आइरहेका छन् । चाडपर्वका साथै विवाह, ब्रतबन्ध, पुजाआजा, बर्थ–डे पार्टी, अन्य भोजभतेरसहित माङ्गलिक तथा सामाजिक कार्यमा झिनिया खपत हुने गरेको छ ।

म्याग्दीमा उत्पादित झिनिया तराईका जिल्लाका साथै पोखरा र काठमाण्डौको बजारसम्म पुग्ने गरेको छ । झिनियाबाट प्राप्त आम्दानीले लगानी उठाउनुका साथै घरखर्च चलाउन, बालबच्चाको पढाइखर्च जुटाउन, चाडपर्व मनाउन र केही रकम सहकारी तथा बैंकमा समेत बचत गर्ने गरेको झिनिया उद्यमी हुमादेवी बताउनुहुन्छ । 

उज्यालोको पर्वका रुपमा लिइने नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा झिनिया, सेलरोटी, मिठाई जस्ता परिकारहरु खाने तथा सयपत्री, मखमली, गोदवरीसहित विभिन्न प्रकारका फुलहरुको माला लगाएर तिहार पर्व मनाउने गरिन्छ । तिहारलगायत चाडपर्वमा मीठो–मीठो खाने, राम्रो कपडा लगाउने, पिङ तथा चमच्चा खेल्ने प्रचलन रहिआएको छ ।

कसरी बन्छ झिनिया ?

झिनिया बनाउका लागि सर्वप्रथम चामललाई धोएर, घाममा सुकाई त्यसलाई पिसेर पीठो बनाइन्छ । त्यही पीठोलाई गहिरो तथा ठूलो भाँडो (डेप्ची वा ताउलो)मा पानीसँगै रङ मिसाएर भिजाइन्छ र आगोमा पकाउँदै मज्जाले मस्काएर ढिँडो पारिन्छ । त्यसपछि ढिँडो बनेको कच्चापदार्थलाई झिनिया बनाउने मेसिनमा खाँदेर राखिन्छ ।

त्यहाँ मस्काएको ढिँडो मेसिनमा राखेपछि मेसिनलाई विस्तारै हातले घुमाएर पेलिन्छ र विभिन्न किसिमका आकर्षक झिनियाँहरु बन्ने गर्दछ । यसरी बनाएको झिनियालाई घाममा सुकाएपछि तेल वा घ्युमा फुराएर खानका लागि तयार गर्ने गरिन्छ । 

झिनिया बिक्रीबाट मनग्य आम्दानी

आफ्नो हाते सिपको प्रयोग गरेर बनाएको झिनिया बिक्री गरेर महिलाहरुले मनग्गे आम्दानी गर्दै आइरहेका छन् । विगत ८ वर्षदेखि व्यावसायिक रुपमा झिनियाँ बनाउदै आइरहेकी मंगला–२, हिदी घरभई हाल बेनीबजार बस्ने हुमादेवी फगामीले यसपटक झिनिया बनाउन एकलाख रुपैयाँभन्दा बढीको कच्चापदार्थ रहेको जानकारी दिनुभयो ।

थोरै लगानीमा पनि झिनिया बनाउन सकिने भएकाले आफूहरु सामूहिक रुपमा झिनिया बनाउन लागेको उहाँको भनाइ छ । झिनियाको प्रति दर्जन एकसय ६० रुपैयाँ मूल्य तोकिएको छ । महिला उद्यमीहरुले दसैंतिहार चाडपर्वमा मात्रै झिनिया उत्पादन र बिक्री गरेर एकलाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् ।

झिनिया बनाउनमा महिलाको आकर्षण

सानो लगानी र छोटो समयको अवधिमा झिनिया बनाउन सकिने भएपछि म्याग्दीका महिलाहरुको झिनिया बनाउने काममा आकर्षण बढेको छ । कतिपय महिलाहरु सामूहिक रुपमै झिनिया बनाउने पेशा, व्यवसायमा आबद्ध भएका छन्भने कोही एकल रुपमा यस पेशामा संलग्न छन् ।

सदरमुकाम बेनीमा मात्रै हस्पिटचोक, शिक्षामार्ग, न्युरोड, हुलाकचोक, बैंकरोड, मङ्गलाघाट क्षेत्रका महिलाहरुले झिनिया बनाउँदै आइरहेका छन् । यसैगरी जिल्लाको ग्रामीण भेगका महिलाहरुले समेत झिनिया बनाउन थालेसँगै उनीहरुको सङ्ख्या बढ्दै गएको छ । 

स्वदेशदेखि विदेशसम्म झिनियाको व्यापार

म्याग्दीका महिला उद्यमीहरुले बनाएको झिनिया सदरमुकाम बेनीबजारसहित ग्रामीण भेगसम्म बिक्री हुने गरेको छ । यस्तै पोखरा, काठमाडौंका बजारका साथै विदेशी मुलुक युके, अमेरिका, कोरिया, अस्टेलिया, साउदीअरब र कतार जानेहरुले झिनिया खरिद गरेर लैजाने गरेका छन् । विदेशमा बस्ने आफन्तजन तथा अन्य विदेश जानेहरुले काँचो झिनिया खरिद गरी लैजाने गरेका छन् । झिनियालाई घ्युमा तारेर गरेर पनि बिक्री गरिन्छ । 

महिलाहरुलाई सहयोगको आवश्यकता

यसैबीच झिनिया बनाउने कार्यमा संलग्न महिला उद्यमीहरुलाई सहयोगको आवश्यकता रहेको छ । पछिल्लो समय आधुनिक प्रविधिको विकाससँगै झिनिया बनाउन सहज हुने विभिन्न प्रकारका मेसिनहरुको आविष्कार भएसँगै उनीहरुलाई उपकरण, औजारलगायत आर्थिक सहायताको आवश्यकता परेको हो ।

जुनसुकै समयमा पनि झिनिया उत्पादन र बिक्री वितरण गर्न सकिने भएकाले यसका लागि आवश्यक पर्ने कच्चापदार्थका साथै उपकरणहरुको महिलाहरुले माग गरेका हुन् ।

डेढ दशकभन्दा बढी समयदेखि झिनिया बनाउने काममा सक्रिय झिनिया उद्यमी भुलकुमारी रोकाले महिलाहरु आत्मनिर्भर बन्दै गएको अवस्थामा स्थानीय तहले सहयोग गरेमा आफूहरुको पेशा, व्यवसाय समेत फस्टाउने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया